-1747445074.jpg)
कुनै काल–रात्रिमा मैले निर्णय गरेँ, ‘म सीडीओको जागिर खान सक्तिनँ । मजस्तो संवेदनशील लेखकका निमित्त यस्तो जागिर खानु ठूलो दण्ड नै हो, आफूलाई ढाँट्नु हो ।’
२०३६ सालको माघे संक्रान्तिको राति एकजना सुरक्षागार्ड, सयस, घोडा र म गरी चार प्राणी खोटाङको नुनथला लेकमा छौँ । घडी हेर्छु, ठ्याक्कै १२ बजेको छ । जंगलबाट थरीथरीका हिंस्रक पशुहरूको विभिन्न आवाजहरू आइरहेको छ । भूतप्रेत र चोर डाँकाको पनि डर छ ।
हामी एकनास दूधकोसीको किनार अर्थात् रबुआको पुल पुग्न आतुर छौँ । घोडाको हिनहिन आवाजसँगै सबै तेर्सो बाटोमा छौँ । म आफ्नो जागिरे जीवनको प्रारम्भ, मध्य र भविष्य मनमा गुन्दै, दिक्क मान्दै घोडामाथि छु । अरूहरू के सोचिरहेछन् वा के विचार गर्छन्, मैले वास्ता गरेको छैन । मनमा त्रास छ, विश्वास र अविश्वास छ ।
साँझमा खाना खान लागेको थिएँ, प्रहरी निरीक्षक तीर्थ प्रधान हस्याङफस्याङ गर्दै मकहाँ आइपुग्नुभयो । मैले सोचिहालेँ– कतै केही ठूलै घटना घटेछ । नभन्दै उहाँले बेलीविस्तार लगाउनुभयो– सीडीओ साहेब, आज माघे संक्रान्ति रबुआमा मेला थियो । त्यहाँ निक्कै ठूलो मेला लाग्छ । हाम्रो हवल्दारले तीन–चार राउण्ड गोली हानेको र केही मास्टरहरू घाइते भएको खबर छ । म त दलबलसहित हिँडे ।
“अनि के गर्ने ?” म आत्तिएँ ।
“गोली चलेको ठाउँमा सीडीओ साहेब नगई हुन्छ ? भोलि गृहले स्पष्टीकरण मागिहाल्छ नि,” प्रधानजीले भन्नुभयो, “आगे सरको विचार । म त हिडेँ ।” अनि, उहाँ हिँडिहाल्नुभयो – म भने बिलखबन्दमा परेँ ।
रात झमक्कै परिसक्यो । यस्तो रातिको समय जंगलको बाटो । मैले हतारहतार खाना खाएँ र सयसलाई सोधेँ, “राति घोडाले आँखा देख्छ कि देख्तैन ?”
उसले भन्यो, “घोडाले राम्रै आँखा देख्छ ।”
हामी दिक्तेल बजारबाट उकालो लाग्दा झन्डै दश बजिसकेको थियो । मनमा लाग्यो– बजारका मान्छेहरू सबै मस्त निद्रामा छन् । आफू भने...!
त्यही बेला लाग्यो– प्रशासनको दुःख कसले देख्ने ? सबैजना खायो, भ्रष्टाचार गर्यो, कमायो मात्र भन्छन् । खाई नखाई, निद्रा आहार केही नसोची एकनास जनताको सेवामा समर्पित हुनु निश्चय नै कठिन काम हो ।
नुनथलाको तेर्सो, त्यो रात मलाई धेरै लामो लाग्यो । दिउँसो हिँड्दा एक घण्टा पनि नलाग्ने बाटो राति यौटा लामो भयपूर्ण सुरुङजस्तो अनुभव भयो, जति भित्र पसे पनि समाप्त नहुने ।
अब लामीडाँडाको ओरालो ओर्लनुपर्ने । ओरालोमा घोडालाई अत्यन्त कठिन हुने भएकाले म लट्ठी टेकी ओरालो झर्न लागेँ । घुडा मज्जाले दुख्न थाल्यो । रातभरिको थकाइले केही रिंगटाजस्तो पनि लाग्यो ।
राम्रै उज्यालो भएपछि लामीडाँडा पुगियो । चिया बनाउन लगाई खाइयो । तर, ओरालो कहाँ सिद्धिनु र !
लामीडाँडा विमानस्थलमा धेरैपटक आएको र गएको छु । अहिले सम्झँदा घटीमा ५० पटक होला । तर, त्यहाँको ओरालो अझ कोसीसम्म पुग्छ र टाढै छ भन्ने मेरो सोचाइ सत्य सावित भयो । जति ओरालो झरे पनि नसिद्धिने ।
झन्डै नौ बज्यो, खोलाको किनारामा पुगियो । अनिदोको रनाहा उस्तै थियो । मनमा एक किसिमको भय थियो, के कसो होला भन्ने ।
तर, प्रहरी निरीक्षक पुगी सर्जमिन कागज गराई खाना खाने तयारीमा हुनुहुँदो रहेछ । तीन–चारजना मास्टर साहेबहरूलाई कम्मरमुनि गोली लागेको रहेछ । वातावरण पूरै आतंकित । घाइतेलाई औषधोपचारका लागि प्लेनबाट विराटनगर पठाउने व्यवस्था मिलाइयो ।
गोली हान्नुपर्ने कारण पनि बुझियो । पहाडको मेला के कस्तो हुन्छ मलाई थाहा थियो – दुई–चारवटा भट्टी, दुई–चारजना तरुनी, दुई–चारवटा गीत, मादल र केही खात्राक–खुत्रुके पसलहरू ।
साँझ परेपछि मेलामा रौनक चढ्छ । त्यो रौनक वा तापक्रम चढाउने दुई वस्तु हुन्छन्, रक्सी र युवती । जति रात छिप्पिँदै जान्छ मेला यौन–भेलामा परिणत हुन्छ ।
झन्डै २३–२४ वर्षअघिको यो सानो घटना, जसलाई म संस्मरणको रूप नदिन पनि सक्थेँ । तर, ‘प्रशासकले पनि आफ्नो डायरी लेख्नुपर्छ वा संस्मरण लेखेर राख्नुपर्छ’ भन्ने कुशल प्रशासक र प्रसिद्ध समाजसेवी बद्रीविक्रम थापाको सन्देशले मलाई बरोबर घच्घच्याइरहन्छ ।
होइन भने आफ्नो जागिरे जीवनको २५ वर्ष नै जीवनयात्राबाट हटाउन पाए मलाई खुसी र गर्व लाग्थ्यो । किनभने, यो राष्ट्रले इमानदार र सक्रिय प्रशासकलाई चिन्ने र कदर गर्ने सोच बनाइसकेको नै छैन । त्यस्तो सोच आउन घटीमा दुई सय वर्ष लाग्छ भन्ने मेरो धारणा छ ।
मलाई भाग्यले साथ दियो अथवा ईश्वरले । सायद मेरो अन्तरपुकार सुन्यो । मैले फेरि सीडीओ वा शान्ति सुरक्षाको जिम्मेवारी लिने प्रशासक हुनु परेन, अब यस जिन्दगीमा हुनुपर्ने पनि छैन ।
(प्रसिद्ध आख्यानकार परशु प्रधानको संस्मरणात्मक कृति ‘जिन्दगीका मोडहरू’बाट ।)