site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मैले देश छोडेको होइन, छिट्टै फर्कंदै छु : डा. गुणाकर भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा गरेका डा. गुणाकर भट्टले आफूले देश नछोडेको बताएका छन् । एउटा कार्यक्रममा सहभागी हुन अमेरिका आएको र छिट्टै देश फर्किने उनले बताएका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा चर्चामा आएका भट्टले कार्यकारी निर्देशकबाट राजीनामा गरे पनि उनको राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेपछि सत्तारुढ दलहरूले विकल्प खोजेको चर्चालगत्तै भट्ट अमेरिका गएका थिए । 

तपाईले देश छोड्नुभएको हो ? भन्ने बाह्रखरीको प्रश्नमा उनले भने “मैले देश छाडेको होइन, एउटा कार्यक्रमका लागि यता आएको हुँ, छिट्टै फर्कंदै छु ।”

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । यसअघि समितिमा रहेका दुई सदस्यले राजीनामा दिएका थिए । ती दुई सदस्यको स्थानमा डा. पोषराज पाण्डे र निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको हो । 

यसअघि पूर्वगभर्नर विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य थिए । उनीहरु दुवैजनाले राजीनामा दिएका कारण दुई सदस्य थप गरिएको हो ।

सिफारिस समितिबाट राजीनामा दिएका डा.विश्व पौडेललाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भएको बताइएको छ । पौडेल सक्रिय राजनीतिज्ञ भएको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्