
काठमाडौं । नयाँबस्ती युथ क्लबविरुद्ध फराकिलो जित निकाल्दै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेडले अपराजित यात्रा कायम राखेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा नयाँबस्ती विरुद्ध ५–० को फराकिलो जित निकालेको हो ।
प्लानिङको जितमा फागुराम थारुले दुई गोल गर्दा प्रतापसिंह राई र ओमप्रकाश चौधरीले एक गोल गरे । टोलीले नयाँबस्तीबाट भने एक आत्मघाती गोल पाएको थियो ।
खेलको ११औँ मिनेटमा प्लानिङका फागुराम थारुले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए । २९औँ मिनेटमा प्लानिङका ओमप्रकाश चौधरीले अग्रतालाई दोब्बर बनाए ।
४८ औँ मिनेटमा प्लानिङले एक आत्मघाती गोल उपहार पायो । ५५औँ मिनेटमा फागुरामले पुन गोल गर्दै टोलीको अग्रतालाई ४–० को अवस्थामा पुर्याए । ७२औँ मिनेटमा प्लानिङका प्रतापसिंह राईले टोलीको अग्रतामा एक गोल थपे ।
जितसँगै प्लानिङ ब्वाइजले लिगको अपराजित यात्रा कायम राखेको छ । लिगको सुरुआतदेखि लिगमा अपराजित प्लानिङले नवौँ जित निकालेको हो । जितसँगै प्लानिङले १२ खेलमा तीन बराबरी र नौ जितबाट ३० अंक जोडेको हो ।
अब प्लानिङको एक मात्र खेल बाँकी छ । उसले यस खेलमा पनि जित निकाले २०६८ सालमा ‘सी’ डिभिजनको यात्रा दोहोर्याउनेछ । यस संस्करणमा पनि टोलीले लिगभरी अपराजित बन्दै ‘बी’ डिभिजन तय गरेको थियो ।
पराजित नयाँबस्ती भने लिगबाट बाहिरिसकेको छ । टोली ११औँ चरणमा नै बाहिरिसकेको थियो । पराजयसँगै नयाँबस्ती नवौँ हार खेप्दै १२ खेलमा एक जित र दुई बराबरी र नौहारबाट पाँच अंकमा सीमित भएको छ ।