site stats
बाह्रखरी :: Baahrakhari
देश
उपचार सेवा नपुगेका ठाउँमा सेवा विस्तार गर्न सम्झौता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालय र संघबीच गरिएको सम्झौताअनुसार अब संघले आँखा उपचार उपलब्ध नभएका स्थानमा लक्षित गरेर सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्नेछ । 

आँखा उपचार पहुँच वृद्धि गर्ने मन्त्रालयको नीतिअनुसार संघले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर कार्यक्रम विस्तार गर्नेछ भने यसका लागि मन्त्रालयले सहजीकरण गर्नेछ । 

यसैगरी, आधारभूत स्वास्थ्य संस्थामा कार्यरत प्राथमिक आँखा उपचारमा सेवा प्रदान गरिरहेका जनशक्तिको क्षमता वृद्धिका लागि संघले सघाउने भएको छ । मन्त्रालयले संघका विदेशी आँखा चिकित्सकलाई उपचारमा सहभागी गराउन सहजीकरण गर्नेछ भने छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिलाई संघीय तथा प्रादेशिक अस्पतालबाट खटाउन सघाउनेछ ।

सम्झौतापछि आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले नेपालको आँखा उपचार सेवा स्तरीय र सुपथ भएको भन्दै नागरिकको पहुँच वृद्धिसँगै स्वास्थ्य उपचार पर्यटन केन्द्रका रूपमा विकास गर्न आँखा उपचार सेवाले भूमिका खेल्ने विश्वास गरे । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्