
काठमाडौं । मन्त्रिपरिषद्ले दमक भ्यु टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ । वैशाख ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन् ।
उनले जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्वसामु उजागर गर्न सगरमाथा संवादको आयोजना गरिएको जानकारी दिएका छन् । जलवायु परिवर्तनबाट देखिएका समस्या सामनाका साथै यसलाई न्यूनीकरण गर्न साझा प्रतिबद्धता आवश्यक देखिएको गुरुङले बताए ।
मन्त्रिपरिषद् बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को पुनर्संरचना गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए । यसका लागि गोविन्दराज पोखरेलको संयोजकत्वमा ईश्वरी कडरिया र डा. यज्ञ गजाधर खड्का रहेको उच्चस्तरीय पुनर्संरचना समिति गठन गरिएको उनले बताए ।
बैठकले नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षकहरूको तलबमान तथा ग्रेड समायोजन गर्ने, सहकारी नियमन प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को लागि अधिकृतस्तरको ३१ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।
मन्त्रिपरिषद्ले औद्योगिक सम्पत्तिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा प्रस्तुत गर्न समेत स्वीकृति दिएको छ ।