-1746525819.jpg)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्युनीकरण तथा उद्धारका लागि आफ्नो तयारी थालेको छ । यसका लागि देशभर नै विपद् जनचेतना रेस्पोन्स पट्रोल सुरु गरिएको छ भने टोलटोलमा विपद् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धी अनुशिक्षण तथा अभ्यास सञ्चालन गर्नेलगायत रहेका छन् ।
अघिल्ला वर्षमा भएको विपद्का घटनालाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा मंगलबार प्रधान कार्यालय हलचोकमा व्यापक छलफल भएको थियो ।
उपत्यकाका सबै युनिट कमान्डर तथा फिल्डमा खटिने सिनियर, जुनियर अधिकृत तथा अन्य दर्जा समेतको सहभागितामा छलफल गर्दै फिल्डमा खटिँदा भोगेका अनुभव र समस्या तथा नयाँ रणनीतिको बारेमा पनि छलफल गरिएको छ ।
विपद् सूचकअन्तर्गत आफ्ना पूर्वकर्मचारी समेत यसमा सहभागी गराउँदै वडा–वडामा सचेतनामूलक कार्यक्रम गर्ने सशस्त्र प्रहरीले तयारी थालेको छ । यसबाट विपद्को बारेमा तत्काल सूचना प्राप्त गर्न सकिएमा छिटोभन्दा छिटो उद्धारका कार्यमा खटिन सक्ने विश्लेषण गरिएको छ ।
अब प्रत्येक दर्जाको आधारभूत तालिममा अनिवार्य रूपमा १५ दिनको विपद् व्यवस्थापन तालिम सञ्चालन गरिने लक्ष्यसमेत सशस्त्र प्रहरी बलको छ । सशस्त्र प्रहरीका युनिटमध्ये विपद् व्यवस्थापन साधनस्रोतसम्पन्न कम साधनस्रोत भएका र नभएका गरी तीन तहमा विभाजन गरेर साधनस्रोत नभएका युनिटमा तत्काल आधारभूत सामाग्री व्यवस्थापन गरिने जनाइएको छ ।
छलफल कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी मनसुनमा के गर्ने भन्ने बारेको स्पष्ट खाका तयार गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन् । उनले २४सै घण्टा परिचालन हुनका निम्ति सबै युनिटमा टोलीहरु तयारी हालतमा राख्न समेत निर्देशन दिएका छन् ।
मनसुनजन्य प्रकोप न्यूनीकरण र उद्धारको स्पष्ट खाका तयार भएसँगै सबै बाहिनीपति, गणपति तथा गुल्मपतिसम्मलाई भर्चुअल माध्यमबाट त्यससम्बन्धी आवश्यक निर्देशन समेत दिइने सशस्त्र प्रहरीले जनाएको छ ।
हाल सशस्त्र प्रहरी बलसँग विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्ति दुई हजार चार सय ८५ जना छन् भने गोताखोरको संख्या एक सय ८ पुगेको छ । हाल ३३ मोटरबोट तथा ९१ र्याफ्टबोट रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
मनसुन प्रतिकार्यका निम्ति सशस्त्र प्रहरी बल नेपालको १३ वटा डोजर, लोडर र एक्जाभेटरसहित तालिम प्राप्त जनशक्ति तयारी छ ।
यसैगरी देशका ३९ जिल्लाका ५९ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटमा एक सय २४ वटा मोटर बोट र र्याफ्ट बोट तथा १३ जिल्लाका १५ वटा सशस्त्र प्रहरी बल नेपाल कार्यालयमा २८ वटा डिजास्टर रिलिफ सिस्टम (डीआरएस कन्टेनर) समेत तयारी हालतमा राखिएको छ ।
एक सय आठजना गोताखोरलाई आवश्यक उपकरणसहित सातवटै प्रदेशमा रहेका बाहिनी मुख्यालय तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं २० विपद् उद्धार गण सिनामंगल, विपद् व्यवस्थापन बेस खुर्कोट र सिन्धुलीमा तैनाथ गरिएको सशस्त्रले जनाएको छ ।