
काठमाडौं । संघीय संसद् सचिवालयको बेरुजु १४ लाख ८५ हजार देखिएको छ । महालेखा परीक्षकको ६२औँ प्रतिवेदनमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराइएपछि १ लाख ५४ हजार फर्स्योट गराइएको उल्लेख छ ।
“संघीय संसद सचिवालयको यो वर्ष १६ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि १ लाख ५४ हजार रुपैयाँ फर्स्योट गरेकोले १४ लाख ८५ हजार रुपैयाँ बेरुजु बाँकी रहेको छ,” प्रतिवेदनमा भनिएको छ ।
यो वर्ष चालुतर्फ ९२.६३ र पुँजीगततर्फ ९४.५० प्रतिशत खर्च भएको उल्लेख छ । चालु खर्चअन्तर्गत सभा तथा समितितर्फ संघीय सदनको बैठक र परिवहन खर्च ५ करोड २० लाख रुपैयाँ र पारिश्रमिक खर्च ८ करोड ३ लाख रुपैयाँ छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको भवन तथा परिसरको वार्षिक भाडा १४ करोड ९ लाख २९ हजार रुपैयाँ तथा बाँकी बजेट सचिवालयका कर्मचारी एवं कार्यालय सञ्चालन तथा स्वीकृत वार्षिक कार्यक्रममा खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।