site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एनआरएनए विवादमा सत्तारुढ कांग्रेस–एमाले नै विभाजित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ नै वैधानिक भएको बताएका छन् । केसी नेतृत्वको गैरआवासीय नेपाली संघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘एनआरएनए ग्लोबल कन्क्लेभ’को उद्घाटन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले केसीको वैधानिक कार्यकाल अझै कायम रहेको बताए । 

सर्वोच्च अदालतको फैसलामा पनि आगामी कार्तिक ४ गतेसम्म केसीको नेतृत्वको संस्था निरन्तर रहेको उल्लेख भएको उनले बताए । केसी नेतृत्वको गैरआवासीय नेपाली संघले लोकतान्त्रिक र विधिवत् महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने उनले विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्ति देखापर्नु उचित नहुनेमा जोड दिँदै संकीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गरे । आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा व्यक्तिका लागि विधान फेर्ने ढंगले संस्था चल्न नसक्ने उनले बताए । 

प्रधानमन्त्री ओलीले गलत उद्देश्यका कारण एकता महधिवेशनका नाममा हानाहन र ठोकाठोकको स्थिति उत्पन्न भएको तर्क गरे । स्वार्थका आधारमा गैरआवासीय नेपाली संघ विभाजन गर्नु उचित नभएको भन्दै उनले असन्तुष्ट पक्षलाई समावेश गर्न उदार भएर लाग्न सुझाव दिए । 

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीसँग सम्बन्धित कानुनमा गर्नुपर्ने संशोधनका लागि प्राप्त सुझावका आधारमा सरकारले काम गर्ने प्रतिबद्धता जनाए । 

यसअघि सर्वोच्चको आदेशअनुसार शेष घलेको नेतृत्वमा गठित उच्चस्तरीय समितिले गराएको निर्वाचनबाट महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । उक्त महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरेकी थिइन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्