
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नागरिकको हकहितनिम्ति काम गर्न नसकेको आरोप लगाएका छन् । आइतबार (वैशाख २८) प्रतिनिधिसभा बैठकमा उनले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका हुन् ।
नेपालको समग्र अर्थतन्त्र विदेशबाट पठाएको रेमिटले चलिरहेको भए पनि सरकारले वैदेशिक रोजगारमा रहेका नागरिकको श्रमको सम्मान गर्न नसकेको उनले आरोप लगाए । उनले प्रधानमन्त्री, मन्त्री, सांसदहरूको तलबभत्ता विदेशबाट पठाइएको रेमिट्यान्सले धानेको जिकिर गरे ।
उनले भने, “आज हामी सांसदहरू, प्रधानमन्त्री, मन्त्री, यहाँको कर्मचारी सबै मानिसहरूको तलब र भत्ता यही विदेशबाट पठाइएको रेमिटले धानेको छ । हामीले नुनको सोझो गर्नुपर्छ कि पर्दैन ?”
वैदेशिक रोजगारीका नाममा अझै लाखौँ मानिस दलालबाट ठगिएको उनको भनाइ थियो । “आज लाखौँ नेपाली नागरिकहरू दलालको ठगीमा परेर घरबारविहीन भएका छन् । तर, श्रम मन्त्रालयमा सिर्फ झन्डा हालेर बस्ने हो कि मन्त्रीले जनताका लागि काम गर्ने हो ? यदि, त्यो मन्त्रालयले जनताका लागि काम गर्दैन भने त्यो मन्त्रालयको कुनै पनि काम छैन,” उनले भने ।
वैदेशिक रोजगारमा गएर अलपत्र परेका नागरिकको उद्धारनिम्ति परराष्ट्र मन्त्रालयले आवश्यक कूटनीतिक पहल गर्न नसकेको आरोप पनि उनले लगाए । “अहिले पनि नेपाली अलपत्र परेका छन् । परराष्ट्र मन्त्रालयले कुनै पनि कूटनीति गाँसेको छैन,” उनले भने, “जहाँ गए पनि नेपाली नागरिक मर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ, सभामुख महोदय ।” न्युज एजेन्सी नेपाल