
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले नीति तथा कार्यक्रम विगतको 'कपी पेस्ट' भएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले गर्न नसकिने काममात्रै नीति तथा कार्यक्रममा समावेश गरेको बताए ।
उनले नयाँ दलहरूमाथि 'राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरीलगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ' भनेर लेखेको भए हुने भनेर व्यंग्य गरे ।
उनले 'राष्ट्रलाई व्यापक दलीय करण गर्ने, संवैधानिक निकाय कब्जा गर्ने, राष्ट्र बैंक कांग्रेसको भागमा र धितोपत्र एमालेलाई दिइएको खुल्लमखुल्ला बहस गराइएका विषय' पनि नीति तथा कार्यक्रममा समेट्न सरकारलाई सुझाव दिए ।
“यहाँ गजब हुँदो रहेछ, गर्न नसकिने र नगरेका काम लेख्ने, अनि गरेको काम नलेख्ने पो रहिछ । यहाँ लेख्या भए हुन्थ्यो त, नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरी लगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ भनेर लेखेको भए हुन्थ्यो," उनले भने ।
उनले नीति तथा कार्यक्रम यथास्थितिलाई निरन्तरता दिने दस्ताबेज भएको टिप्पणी गरे ।