
कठमाडौं । भुक्तानी नेटवर्क फोनपेले काठमाडौंस्थित हिल्टन काठमाडौं होटलमा एसियन पेमेन्ट नेटवर्क (एपीएन)को २१औँ फोरमको पहिलो बैठक आयोजना गरेको छ ।
डिजिटल भुक्तानी नवप्रवर्तनमा क्षेत्रीय केन्द्र बन्ने यात्रामा फोनपेले ऐतिहासिक उपलब्धि हासिल गरेको हो । यो प्रतिष्ठित कार्यक्रममा एसियाका १४ सदस्य राष्ट्रहरू प्रतिनिधि भेला भई एसियामा सीमापार रिटेल भुक्तानीको भविष्य निर्धारण गर्न जुटेका बताइएको छ ।
फोरममा उच्चस्तरीय छलफल, जानकारीमूलक प्रस्तुतीकरण र सदस्य राष्ट्रबीचको डिजिटल वित्तीय सहकार्यलाई मजबुत पार्ने उद्देश्यले विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए ।
फोरमको सुरुआतमा एपीएन प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्रीको कार्यालयमै भेट गरेका थिए ।
फोरमको पहिलो दिन एपीएनको वार्षिक साधारणसभा सम्पन्न भयो जसमा प्रमुख कार्यसूचीअन्तर्गत एपीएन चार्टरमा अद्यावधिक, कार्ड र ननकार्ड सीमापार भुक्तानी पहलको प्रगतिबारे जानकारी गराइएको थियो ।
फोरमको समापन मे ७ मा ओपन डे सत्रसँगै सम्पन्न भएको छ । जसमा फ्रड जोखिम व्यवस्थापन, सिकिएका पाठ र सीमापार भुक्तानी एकीकरणसम्बन्धी प्यानल छलफल गरिएका थिए । यी सत्रमा फोनपेले क्षेत्रीय सहकार्यको आफ्नै अनुभवबाट मूल्यवान् जानकारी प्रस्तुत गर्दै सुरक्षित र मापनीय भुक्तानी इकोसिस्टम विकासमा विश्वास, नियामक समन्वय, र प्रविधिको भूमिकालाई जोड दिएको थियो ।
दुईदिने यस कार्यक्रममा सदस्य राष्ट्रले डिजिटल भुक्तानी प्रवाह सहज बनाउनका लागि अपनाएका उत्कृष्ट अभ्यास, प्रविधिमा भएका प्रगति र रणनीति आदानप्रदान भएको बताइएको छ ।