
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद्मा आफ्नो जादु अहिले पनि चल्ने बताएका छन् । संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीको प्रश्नमा उनले माओवादीले जादु चलाए ओली सरकार ढल्ने बताए ।
तर, देउवालाई वा अरूलाई फकाउने पक्षमा माओवादी नरहेको उनले बताए । “हामीले जादु चलायौँ भने सरकार ढल्छ । जनताका नजरमा यो सरकार ढलिनै सक्या छ । प्रविधिक रूपमा पनि हामी लाग्यौँ भने यो सरकार ढल्छ,” प्रचण्डले भने, “तर, हामी देउवालाई वा अरूलाई फकाउने पक्षमा छैनौँ । हाम्रो ध्यान सरकारतिर होइन जनतातिरै छ ।”
हुलाकी राजमार्गकेन्द्रित अभियानमा जनतासँगको संवादका क्रममा जनताले के चाहन्छन् भन्ने बुझेको भन्दै उनले अब पनि सरकारतिर न भएर मध्यपहाडी राजमार्ग अभियानमार्फत जनतातिरै ध्यान दिइरहेको बताए ।
“हाम्रो ध्यान सरकारतिर छैन । हामी जनतामै केन्द्रित हुन चाहन्छौँ,” प्रचण्डले भने, “हामी मध्यपहाडी अभियानमार्फत जनतामा जान्छौँ ।”