
सेन्थ (भारत) । पाकिस्तानसँगको भारतीय सीमाका बासिन्दाले प्रतिद्वन्द्वी सेनाबीचको द्वन्द्वको आतंकका कारण आफ्ना परिवारलाई त्यहाँबाट फिर्ता पठाएका छन् ।
चेनाब नदीको किनारमा बसोबास गर्ने सेन्थको कृषि बस्तीका करिब एक हजार ५०० बासिन्दालाई द्वन्द्वको डरले स्थानान्तरण गरिएको जनाइएको छ । “हामी दीर्घकालीन योजना बनाउन सक्दैनौँ,” गाउँ प्रमुख सुखदेव कुमारले भने ।
कठिन अवस्थाका कारण ‘यहाँका अधिकांश गाउँलेले आधारभूत घर बनाउनेभन्दा बढी लगानी नगर्ने’ उनले उल्लेख गरे ।
भारतले पाकिस्तानलाई कश्मीरमा सर्वसाधारणमाथिको आक्रमणमा समर्थन गरेको आरोप लगाएपछि दुई छिमेकीबीचको सम्बन्ध बिग्रिएको छ ।
पहलगाममा अप्रिल २२ मा गरिएको आक्रमणमा क्याबो बोकेको आरोपमा भारतीय प्रहरीले तीनजनाको खोजी जारी राखेको छ । संयुक्त राष्ट्रसंघले उनीहरूलाई आतंकवादी घोषणा गरेको छ ।
पाकिस्तानले भने २६ जनाको हत्यामा सहयोग गरेको आरोपलाई अस्वीकार गरिरहेको छ ।
सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मीर भारत र पाकिस्तानको विवादित क्षेत्र बनेको छ ।
गाउँ प्रमुख कुमारले अधिकांश परिवार सुरक्षित आवासका निम्ति अर्को ठाउँमा घर बनाई सरेको र शिविरमा करिब एकतिहाइ मात्र मानिस रहेका बताए ।
सन् १९९९ मा दुवै पक्षले आक्रमण गर्दा यो क्षेत्र नराम्ररी प्रभावित भएको थियो ।
पहलगाममा आक्रमण भएदेखि बालबालिका डरैडरमा बाँचिरहेका छन् । वार्ताका माध्यमबाट आफ्ना मतभेद समाधान गर्न नयाँ दिल्ली र इस्लामाबादमाथि अन्तर्राष्ट्रिय दबाब बढेको छ ।
संयुक्त राज्य अमेरिकाले ‘तनाव कम गर्न’ आग्रह गरेको छ । छिमेकी चीनले ‘संयम’ रहन आग्रह गरेको छ । युरोपेली संघले स्थिति ‘चिन्ताजनक’ भएको चेतावनी दिएको छ । रासस/एएफपी