
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बनेको बताएका छन् ।
शनिबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लोकतन्त्रमा दलहरू चहिने तर राजनीतिक दल स्वार्थ समूह बनिरहेको उनको टिप्पणी छ ।
डा. भट्टराईले लोकतन्त्रमा राजनीतिक दलहरु नै विचारका वाहक हुने बताए । उनले राजनीतिक दलहरूको प्रतिष्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गरे ।
नेपालका राजनीतिक दलहरू विचार, राजनीति, सिद्धान्त, आदर्शभन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सीमित रहेको उनको भनाइ छ ।
उनले राजनीतिक दलहरूले सरकारलाई बिना लगानी आर्थिक उपार्जन गर्ने माध्यम बनाएको बताए । राजनीतिक दलहरू विचार, सिद्धान्त, आदर्श, नैतिकताकावाहक हुन नसकेको उनको आरोप छ ।
अध्यक्ष भट्टराईले नेपाली अर्थतन्त्रले गुणात्मक फड्को मार्न गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण हुने बताए । न्युज एजेन्सी नेपाल