
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले वर्तमान व्यवस्थाबाट मुलुकमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको बताएका छन् । बिहीबार १३६औँ श्रमिक दिवसका अवसरमा राप्रपा, नेपाल आबद्ध मजदुर संगठन (टुकोन) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाए ।
उनले उदास, हताश र निराशालाई चिर्नकै लागि पनि व्यवस्था परिवर्तन जरुरी भएको दाबी गरे । अध्यक्ष थापाले सम्पूर्ण हिन्दुवादी एक हुनुपर्ने वर्तमानको माग भएकाले वर्षायाम सुरु हुनुअगावै गणतन्त्रविरुद्ध आन्दोलनको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
"राप्रपा, नेपालले विगत केही वर्षदेखि अहिलेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्ने, सनतान हिन्दुराष्ट्र, राजसंस्था पुनःस्थापना गर्ने र अहिलेको तीन तहको संघीय संरचनालाई परिमार्जन गरेर केन्द्र र स्थानीय तहको दुई तह मात्र व्यवस्था गर्नुपर्छ भनेर आह्वान गरिराखेको छ," उनले भने, "बेला बेलामा सडक संघर्ष पनि गरिरहेका छौँ ।"
अध्यक्ष थापाले हिन्दुराष्ट्र स्थापना र सुशासन कायम गर्न राष्ट्रवादीहरूको आन्दोलनमा उत्रिएको दाबी समेत गरे ।