
काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आर्थिक वृद्धि उपभोक्ता मूल्यमा साढे ४ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको हो ।
मुलुकको अर्थतन्त्रको आकार बढेर ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको कार्यालयले जनाएको छ । कार्यालयले गत आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि ३.८७ प्रतिशत भएको जानकारी दिएको थियो ।
गत वर्ष नेपालको अर्थतन्त्रको आकार गत वर्ष ५७ खर्ब ४ अर्ब रुपैयाँ पुगेको थियो । एक वर्षमा अर्थतन्त्रको आकार चार खर्ब रुपैयाँ बढेको कार्यालयले जनाएको छ । यस्तै, अघिल्लो वर्ष अर्थतन्त्रको आकार ४८ खर्ब ५३ अर्ब रुपैयाँ थियो ।
कार्यालयका अनुसार कृषि क्षेत्रको वृद्धि ३.२३, गैरकृषि क्षेत्रको ४.२८ प्रतिशत रहेको अनुमान छ । कार्यालयले ९ महिनाको तथ्यांक प्रयोग गरेर बाँकी अवधिको तथ्यांकीय विधिको प्रयोग गरी अनुमान गरिएको जनाएको छ ।
सरकारले चालु आर्थिक वर्ष साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । यस्तै विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)ले यो वर्ष साढे चार प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेका छन् ।
कार्यालयले यो वर्ष आर्थिक गतिविधि सामान्य रूपले अघि बढेको अनुमान गरेको छ । आगामी महिना कुनै पनि झट्का हुने अनुमान नगरिएको सो अवसरमा जानकारी दिइयो ।
यस्तै कार्यालयले एक वर्षमा कुल पुँजी निर्माण १७ खर्ब १३ अर्ब रुपैयाँ रहेको जानकारी दिएको छ । जसमा निजी क्षेत्रको ६१, सरकारको २१ र सार्वजनिक संस्थानको ८ प्रतिशत हिस्सा रहेको जानकारी दिएको छ ।
चालू आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रको ३.२८ प्रतिशत र गैरकृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर ३.०२ प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर १.९८ प्रतिशत कायम भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा कुल मूल्य अभिवृद्धिको सबैभन्दा धेरै वृद्धिदर विद्युत् तथा ग्यास १३.८२ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । यस क्षेत्रलाई यातायात तथा भण्डारको ९.४५ हुन गई दोस्रो धेरै वृद्धि गर्ने क्षेत्रको रूपमा रहेको छ ।
अर्कोतर्फ, शिक्षा १.९८ र खानी तथा उत्खनन १.९९ प्रतिशत रहेको छ । यो क्षेत्रको वृद्धि तुलनात्मक रूपमा सबैभन्दा कम रहने अनुमान गरिएको छ ।
त्यसैगरी, कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष कृषि, वन तथा मत्स्यक्षेत्र २५.१६ र व्यापार क्षेत्र १४.५५ प्रतिशतले तुलनात्मक रूपमा धेरै योगदान गर्ने अनुमान गरिएको छ ।
अर्कोतर्फ, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन ०.४२ र खानी तथा उत्खनन ०.४६ प्रतिशत हुने देखिएको छ ।