
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कमान्डमा जान लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकहरूलाई तत्काल परिणाममूखी काम गर्न नसके जुनसुकै बेला कमान्डबाट फिर्ता गर्ने चेतावनी दिएका छन् ।
मंगलबार मुख्यालयमा निर्देशन दिँदै उनले भने, “सशस्त्र प्रहरीको वर्दी चम्काउने की यसलाई धूमिल पार्ने भन्ने जिम्मा तपाईंहरूको हातमा छ त्यसैले संवेदनशील भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहोस् ।” देशको सार्वभौमसत्ता, सीमा सुरक्षामा शून्य गल्तीमा काम गर्न र राजस्व संकलनका लागि २४ घण्टा सक्रिय रहन निर्देशन दिँदै महानिरीक्षक अर्यालले मेरो संगठन भनेर काम गर्न, लोभलालचमा नफस्न र संगठनको नीति नियमअनुसार काम गर्न निर्देशन दिए ।
“देश र समाजको लागि गौरव गर्न लायक काम गर्न सक्नु भएन भने र व्यक्तिगत लोभलालचमा फस्नु भयो भने तपाईंलाई कुनै शक्तिले पनि बचाउन सक्दैन त्यसको हेक्का राख्नुहोला,” उनले भने ।
उच्च मनोबलका साथ देखिने गरी र महसुस हुने गरी कार्य गर्न तथा आफूले गरेका कार्य प्रगति प्रत्येक महिना मुख्यालय पठाउन उनले निर्देशन दिए । मातहत कर्मचारीले गल्ती गरे सम्बन्धित बाहिनीका बाहिनीपतिहरूलाई कारबाही गर्ने चेतावनी दिँदै महानिरीक्षक अर्यालले बाहिनीदेखि गण, गुल्मसम्मका स्थायी कार्यालयहरूको प्रत्येक तीन/तीन महिनामा कमान्डको पुनरावलोकन तथा पुनर्मूल्यांकन गरिने बताए ।