
काठमाडौं । दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार (अप्रिल २७) अरुण जेट्ली रंगशालामा दिल्लीले प्रस्तुत गरेको १६३ रनको लक्ष्य बेंगलुरुले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
बेंग्लुरुलाई जित दिलाउन क्रुनाल पन्ड्याले ४७ बलमा पाँच चौका र चार छक्कासहित अविजित सर्वाधिक ७३ रन बनाए । विराट कोहलीले ४७ बलमा चार चौकासहित ५१ रनको योगदान गरे ।
दिल्लीका अक्षर पटेलले दुई विकेट लिए । दुस्मन्था चमिराले एक विकेट हात पारे ।
त्यसअघि, टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रन बनाएको थियो । दिल्लीका केएल राहुलले सर्वाधिक ४१ रन जोडे । ट्रिस्टन स्टुब्सले ३४, अभिषेक पोरलले २८, फाफ डुप्लेसिसले २२ रन थपे ।
बेंगलुरुका भुवनेश्वर कुमारले तीन विकेट लिए । जस हैजलवुडले दुई विकेट हात पारे ।
जितसँगै १० खेलबाट १४ अंक जोडेको बेंगलुरु शीर्ष स्थानमा छ । टोलीले सात खेलमा जित र तीनमा हार व्यहोरेको छ । दिल्ली नौ खेलबाट १२ अंकसहित तालिकाको चौथो स्थानमा छ ।