
काठमाडौं । ०६२ साल साउन १४ गते दाङको तुलसीपुर उपमहानगरपालिका–६, वरुवागाउँका २२ वर्षीय वीरबहादुर गुरुङ ससुराली पुगे । उनी श्रीमतीलाई घरमा नै छाडेर ससुराली गएका थिए । वीरबहादुर र उनका ससुरा कासीराम विकबीच सुमधुर सम्बन्ध थियो ।
ससुराज्वाइँ भए पनि उनीहरू साथीजस्तै मिल्थे । समय मिल्दा ससुराज्वाइँसँगै बसेर मदिरा सेवन समेत गर्थे । साउन १४ गते पनि त्यस्तै भयो । तुलसीपुर बसपार्कमा कासीरामको तरकारी पसल थियो ।
ससुराज्वाइँ दुवैको घर तुलसीपुरको एउटै वडामा थियो । ओहोरदोहोर गर्न पनि गाह्रो थिएन । सँगै मदिरा सेवा गरेका ससुरा खाना पकाउने बेला उनकी कान्छी श्रीमती शोभासँग झगडा गर्न थाले ।
ज्वाइँ वीरबहादुरले ससुरालाई सम्झाउने प्रयास गरे । उनले उल्टै ज्वाइँमाथि हातपात गर्न थाले । पाहुना लाग्न पुगेका वीरबहादुरलाई त्यो सह्य भएन । मदिराले लट्ठिएका वीरबहादुरले पनि ससुरामाथि हातपात गर्न थाले । सासू शोभा के गर्ने/नगर्ने भइन् ।
वीरबहादुरले ससुरामाथि कुटपिट गरिरहे । केही समयमै ससुरा कासीराम भुइँमा लडे । ज्वाइँबाट मरणासन्न हुने गरी कुटिएर ढलेका कासीराम त्यसपछि उठ्न सकेनन् । ज्वाइँसितको झगडा नै कासीरामको जीवनको अन्तिम क्षण बन्यो ।
कुटपिटबाट ससुराको मृत्युपछि वीरबहादुर घर नफर्की भारत लागे । भारतका विभिन्न सहरमा उनले सवारीचालकका रूपमा १५ वर्ष बिताए ।
प्रहरी परिवारकै पोल्ट्री फार्ममा काम
प्रहरीले पक्राउ गर्ने भयले भारतमा भौँतारिएका वीरबहादुर पाँच वर्षअघि नेपाल फर्कने निधोमा पुगे । दाङ र भारत गर्दै उनले समय बिताउन थाले । पछि वीरबहादुर दाङमै लुकेर सवारीसाधन चलाएर जीविकोपार्जन गर्ने निर्णयमा पुगे ।
त्यसनिम्ति उनले उपयुक्त ठाउँ खोजिरहेका थिए । र, भेट्टाए । तुलसीपुर–१२, टरिगाउँँस्थित शुभलक्ष्मी पोल्ट्री फार्ममा सवारीचालका रूपमा काम गर्न थाले । प्रहरीले उनको खोजी गर्न छाडिसकेको थियो । उनी ढुक्कले पोल्ट्री फार्मको सवारीचालकका रूपमा काममा तल्लीन भए ।
पछिल्लो समय इलाका प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल ठकुरीले पुराना घटनाको फाइल हेर्न थाले । त्यहीक्रममा कासीराम हत्या घटनाको अनुसन्धान पुनः सुरु गरियो । र, वीरबहादुरको खोजी गर्दै जाँदा शुक्रबार (वैशाख १२) राति उनी पक्राउ परे । हत्या कसुरको हदम्याद सकिन लागेको समयमा उनलाई पक्राउ गरिएको डीएसपी ठकुरीले जानकारी दिए ।
डीएसपी अनिल ठकुरी ।
उनले भने, ‘‘पुरानो अपराधका घटना हेर्ने क्रममा आफ्नै ससुराको हत्याको आरोपी वीरबहादुरलाई पक्राउ गर्न सफल भएका हौँ । उनी लामो समय भारत र केही समयअघिदेखि दाङमा बस्न थालेको खुलेको सूचनाको आधारमा पक्राउ गरेका हौँ ।’’
आश्चर्यको कुरा त वीरबहादुरले सवारीचालकका रूपमा काम गरेको शुभलक्ष्मी पोल्ट्री फार्म एक प्रहरी कर्मचारी परिवारकै भएको खुलेको छ । त्यो पोल्ट्री फार्म एक सहायक हवल्दार परिवारको भएको दाङ प्रहरी स्रोतको भनाइ छ ।
घटना अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘‘शुभलक्ष्मी पोल्ट्री फार्म प्रहरी सहायक हवल्दारकै बुवाले सञ्चालन गरेका रहेछन् । वीरबहादुर हत्याका फरार अरोपी हुन् भन्ने थाहा नपाएर जागिरमा लगाएको देखिन्छ । वीरबहादुर भने उनकै छोरा प्रहरी हुँदा पनि चासो नराखेपछि ढुक्कले काम गर्न थालेको देखिन्छ ।’’
प्रहरीले वीरबहादुरमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ ।