
काठमाडौं । शिक्षक महासंघसँग वार्ता गर्ने सरकारको प्रयास असफल भएको छ । वार्ताका लागि शिक्षा मन्त्रालयले नै शिक्षकहरूको टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघ उपस्थित नभएपछि वार्ता प्रयास असफल भएको हो ।
मन्त्रालयले छलफलका लागि बोलाएपछि शिक्षक संघ–संगठनका केही प्रतिनिधि शुक्रबार मन्त्रालय पुगिसकेका थिए । महासंघकै सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षक र सरकारबीच वार्ता हुन लागेको जानकारी दिएकी थिइन् ।
तर, महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि जाने क्रममा रहे पनि विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिएका थिए । उनले भनेको विशेष कारण वार्ता टोली सरकारका तर्फबाटै गठन हुनु थियो ।
त्यस्तै मन्त्रालय पुगेका राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमुदकुमार सिंहले सिंहदरबार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि महासंघका अध्यक्षलगायतको टोली फर्किएको जानकारी दिए ।
यसैबीच शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूबाटै प्राप्त नामका आधारमा प्रतिनिधिलाई सिंहदरबार बोलाइएको भन्दै त्यसमा आपत्ति भए वार्ता टोली गठन गर्न महासंघलाई आग्रह गरेका छन् । शिक्षक महासंघले बनाउने आधिकारिक वार्ता टोलीसँग वार्ता गरी समस्या समाधान गर्न तयार रहेको मन्त्री पन्तले बताए ।
आफूहरूसँग भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षक महासंघ निरन्तर आन्दोलनमा छ । शुक्रबार २४औँ दिन पनि उनीहरूले बिजुलीबजार क्षेत्रमा आन्दोलन जारी राखेका हुन् ।