
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाटै शिक्षकका माग सम्बोधन गर्न आफ्ना सांसदलाई जिम्मेवार भूमिका निर्वाहका निम्ति निर्देशन दिएका छन् । बिहीबार बिहान (वैशाख ११) सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको पार्टीको पूर्ण बैठकमा उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको जिकिर गरे ।
संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षाजस्ता महत्त्वपूर्ण विधेयक माओवादी नेतृत्वको तत्कालीन सरकारले गहिरो तयारीपछि संसद्मा प्रस्तुत गरेको उनले उल्लेख गरे । ती विधेयक संसद्बाट पारित गराउन आफ्ना सबै सांसद सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।
उनले शिक्षक, चिकित्सक, लघुवित्तपीडितका समस्या समाधानतर्फ नलागी सरकार उल्टै जटिलता बढाउने दिशामा गएको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकसँगको संवादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।
‘तराई–मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको उनले जिकिर गरे । उनले जनाधार भएका व्यक्तिहरू पार्टीमा प्रवेश गरिरहेका र यसले संगठनलाई थप मजबुत बनाएको बताएका प्रचण्डको सचिवालयले जनाएको छ ।
उनले पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको अभियान सफल भएको पनि जिकिर गरे । हुलाकी राजमार्गकेन्द्रित अभियान र काठमाडौंमा आयोजित प्रदर्शनमा व्यापक सहभागिता देखिएको उनले बताए ।
काठमाडौंमा यथास्थिति र प्रतिगमनविरुद्ध आयोजित ‘विशाल जनप्रदर्शन’मा समाजवादी मोर्चाभित्र देखिएको एकताले पार्टीको गरिमा अझ उँचो बनाएको उनको भनाइ थियो ।
संसदको हिउँदे अधिवेशनमा माओवादी केन्द्रको दबाबकै कारण प्रधानमन्त्री दुवै सदनमा उपस्थित भई जवाफ दिन बाध्य भएको उनले टिप्पणी गरे । “यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजय हो,” उनले भने ।