
पोखरा । प्रदेशसभाको लोगो लगेका गण्डकीका मुख्यमन्त्रीसहितका ९ मन्त्रीलाई छुट्टै लोगो दिने तयारी थालिएको छ । गण्डकी प्रदेशसभा सचिवालयका अनुसार, ६० प्रदेशसभा सदस्यले नै लोगो लगेका छन् । तर, प्रदेश सरकारले भने मन्त्रिपरिषद्का सदस्यहरूलाई छुट्टै लोगो डिजाइन गर्न सूचना निकालेको छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै लोगो डिजाइनका लागि प्रस्ताव आह्वान गरेको छ ।
नयाँ बन्ने लोगो मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितका मन्त्रीहरूले मात्र प्रयोग गर्नेछन् । मन्त्रिपरिषद्का सदस्यहरूलाई नयाँ लोगो बनाउने निर्णय सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले गत वैशाख ४ गते निर्णय गराएका थिए ।
“मन्त्रीस्तरीय निर्णयानुसार गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्का सदस्यहरूको छुट्टै पहिचान जनाउने चिह्न (लोगो) निर्माण गर्नुपर्ने भएकोले इच्छुक संघ, संस्था, निकाय र व्यक्तिले तपशिल बमोजिमको आकार र विषयवस्तुहरू समावेश गरी वैशाख १४ गतेभित्र यस मन्त्रालयमा पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ,” सूचनामा भनिएको छ ।
नयाँ बन्ने लोगो चाँदीको व्यासमा सुनको जलप लगाइएको हुनेछ । ३० मिलिमिटर व्याससहित लोगोको तौल ११.५ ग्राम हुनेछ ।
मन्त्रालयका उपसचिव भोजराज न्यौपानेले जारी गरेको सूचनाअनुसार लोगोमा नेपालको नक्साभित्र गण्डकी प्रदेश स्पष्ट देखिनुपर्ने सर्त राखिएको छ ।
यसबाहेक झन्डा र गहुँको बाला समावेश, पृष्ठभूमिमा गण्डकी प्रदेशको हिमाल र लोगोको उपयुक्त स्थानमा आकर्षक देखिने गरी गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद् लेखिएको हुनुपर्नेछ । छनोट हुने लोगो निर्माताले १० हजार रुपैयाँ पाउनेछन् ।
गण्डकी प्रदेशसभाको दुई कार्यकालमा चारपटक लोगो हेरफेर गरिएको छ । पहिलो कार्यकालमा मुख्यमन्त्रीदेखि मन्त्री र प्रदेशसभा सदस्यहरूले समान लोगो प्रयोग गर्ने गरेका थिए । अहिले भने मन्त्रिपरिषद् सदस्यहरूले मात्र प्रयोग गर्ने गरी नयाँ लोगो बनाउन लागिएको हो ।
पहिलो कार्यकालमा गण्डकी प्रदेशसभा सचिवालयले २५ हजार रुपैयाँ पुरस्कारसहित गण्डकीको लोगो बनाउन सूचना जारी गरेको थियो । सूचनापछि प्रदेशसभाकै कर्मचारीले बनाएको लोगोलाई नियमावलीमा राखियो ।
त्यसपछि नै प्रदेशसभा सदस्यहरूले उक्त लोगो प्रयोग गर्न थाले । पहिलो कार्यकालमा बनाइएको उक्त लोगो प्लास्टिकको थियो । त्यतिबेला प्रतिलोगोको मूल्य १९५ रुपैयाँ थियो ।
त्यही लोगोलाई पछि चाँदीको बेस राखेर चौघेरामा सुनको लेपन लगाइयो । त्यो लोगो चीनबाट बनाएर ल्याइएको थियो । चाँदी र सुनको लेपन जोडेपछि लोगोको मूल्य ३३ गुणा महँगो हुन पुग्यो । १९५ रुपैयाँको प्लास्टिकको लोगोमा चाँदी र सुन जोड्दा त्यसको मूल्य ६ हजार ७५० रुपैयाँ पर्न गयो ।
नेपालले विसं ०७७ जेठमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेत देखिने गरी नेपालको आधिकारिक नक्सा जारी गर्यो । त्यसपछि गण्डकीको लोगो पुनः सच्याइयो र लोगोमा नेपालको चुच्चे नक्सा समेटियो ।
पहिलो कार्यकालमा प्लास्टिकको लोगो लगाएका प्रदेशसभा सदस्यहरूले कार्यकालको अन्त्यतिर चाहिँ चुच्चे नक्सासहितको सुन जडित लोगो लगाउन पाए ।
दोस्रो कार्यकालमा भने गण्डकी प्रदेशसभाको नियमावली नै नयाँ बनाइयो । नियमावली संशोधनको क्रममा गठित उपसमितिले पुरानो लोगो भद्दा भएको भन्दै नयाँ लोगो राख्यो ।
०८० असारमा पारित नयाँ नियमावलीमा नयाँ लोगो समेटिए पनि प्रदेशसभा सदस्यहरूले पाएका थिएनन् । उनीहरूलाई प्रदेशसभा सचिवालयले चुच्चे नक्सासहितको पुरानै लोगो दिएको थियो ।
आर्थिक वर्षको अन्त्यतिर भने प्रदेशसभा सदस्यहरूलाई नियमावली अनुसारकै नयाँ लोगो दिइएको छ । त्यो पनि चौघेरा सुनको र बेसमा चाँदीजडित ।
प्रदेशसभाको हालको लोगोमा महिला र पुरुषले हात मिलाएको चित्र अंकित छ । नयाँ लोगोको चौघेरा स्वर्ण रंगको छ । धानको बालादेखि दुई हात पनि सुनौलो रंगका नै छन् । लोगोभित्र निलो रंग प्रयोग गरिएको छ, जसको अर्थ आकाश हुन्छ ।
खरानी रंगको पृष्ठभूमिमा सुनौला अक्षरले गण्डकी प्रदेशसभा लेखिएको छ । गण्डकी प्रदेशको भूगोलमाथि भने नेपालको झन्डा राखिएको छ । गण्डकीको लोगोको चौघेरा ३२ मिलिमिटरको छ भने मोटाइ दुई मिलिमिटरको छ ।
यही लोगोलाई वर्षको अन्त्यमा आएर प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यहरूलाई उपलब्ध गराएको हो । जुन लोगो मुख्यमन्त्रीसहितका ९ मन्त्रीहरूले पनि लगेर प्रयोग गर्दै आइरहेका छन् ।
सचिवालयका अनुसार, यो लोगो पनि चीनमा नै तयार भएर आएको हो । पहिलाको तुलनामा अहिलेको लोगोको मूल्य दोब्बर छ ।
सचिवालयले दिएको जानकारीअनुसार अहिले प्रदेशसभा सदस्यहरूलाई उपलब्ध गराइएको लोगोको मूल्य १३ हजार २७७ रुपैयाँ ५० पैसा पर्न आउँछ । सचिवालयमा बजेट नभएका कारण लोगो छपाइका लागि अर्थ मन्त्रालयसँग थप बजेट माग गरिएको थियो ।
सचिवालयले मागेको १० लाख रुपैयाँ अर्थले उपलब्ध गराएपछि लोगो छपाइ गरिएको थियो । सचिवालयले यो मूल्यमा ७३ वटा लोगो छापेको छ ।
प्रदेशसभा नियमावलीको अनुसूची ८ मा प्रतीक चिह्न (लोगो) को व्यवस्था गरिएको छ । यो लोगो नियम २२२ सँग सम्बन्धित छ ।
“सदस्यहरूले प्रयोग गर्ने प्रतीक चिह्न (लोगो) अनुसूची ८ बमोजिमको हुनेछ । त्यस्तो प्रतीक चिह्नको प्रयोग र सम्मानमा सदस्यले उचित ध्यान दिनुपर्नेछ,” उपनियम २ मा भनिएको छ ।