
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमिन दिनेशप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यादव उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंले सञ्चालन गरेको वाग्मती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा कार्यरत अमिन हुन् ।
उनले तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अमिन यादवले गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा अख्तियारले २०६३ भदौ ८ गतेदेखि २०८१ असार ३० गतेसम्म यादवले गरेको आर्जन गरेको सम्पत्तिको छानबिन गरेको थियो ।
अनुसन्धानबाट उनको कुल वैध आय दुई करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ देखिएको थियो । यस अवधिमा अमिन यादवको कुल व्यय पाँच करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ रहेको अनुसन्धानले देखाएको छ ।
अनुसन्धानबाट यादवले तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ अवैध रकम आय गरेको अख्तियारको दाबी छ ।
सोमबार दायर गरिएको मुद्दामा अख्तियारले यादवसँग तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ २१ पैसा बिगो दाबी गरेको छ ।
साथै, यादवले सार्वजनिक पदमा रहँदा आर्जन गरेको अवैध सम्पत्ति र सोबाट बढाएको सम्पत्तिसमेत आफ्नो श्रीमती अमृता कुमारी यादवको नाममा राखेको देखिए अख्तियारले जनाएको छ । त्यो सम्पत्ति जफत प्रयोजनका लागि उनको श्रीमतीलाई पनि प्रतिवादी बनाइएको छ ।