site stats
बाह्रखरी :: Baahrakhari
देश
चट्याङपछि झोलिएको तारले भएको थियो ताप्लेजुङ दुर्घटना !

काठमाडौं । ताप्लेजुङमा चट्याङपछि झोलिएको तारले गाडी दुर्घटना भएको खुलेको छ । आइतबार चट्याङका कारण इन्सुलेटर (तार अड्काउने उपकरण)मा क्षति पुगेपछि झोलिएको तारले दुर्घटना निम्त्याएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले जानकारी दिए ।

“चट्याङका कारण इन्सुलेटरमा क्षति पुगेपछि तार झोलियो । बिहानै तुवाँलोले गर्दा उहाँहरूले तार देख्नुभएनछ, नराम्रो घटना भयो,” शिल्पकारले बाह्रखरीसित भने, “बीचमा पानी जमेका कारण गाडीले छेउ च्याप्दा झोलिएको तारमा छोएछ ।”

Argakhachi Cement Island Ad

प्राधिकरणले दुर्घटनाबारे थप छानबिन गरिरहेको छ । विनियमअनुसार क्षतिपूर्तिको व्यवस्था गर्ने शिल्पकार बताउँछन् ।

विद्युतीय दुर्घटनामा मृत्य हुँदा पाँच लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने व्यवस्था छ । प्राधिकरणको पछिल्लो बोर्ड बैठकले १० लाखसम्मको क्षतिपूर्ति दिने व्यवस्था गरेको थियो । तर, कार्यान्वयनमा आइनसकेको प्रवक्ता शिल्पकारले बताए ।

सोमबार (वैशाख ८) बिहान पाथीभरा जाँदै गर्दा फुङ्लिङ नगरपालिका–१०, सेवारोचोकमा मे१च ३०११ नम्बरको बोलेरो जीपमाथिको छतमा बिजुली तार खसेको थियो । त्यसलगत्तै, आगलागी हुँदा चारजनाको मृत्यु भएको थियो ।

घटनामा ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा सविन घाइते भएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्