
काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरणानुसार वाणिज्य बैंकहरूले चैत मसान्तसम्म ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यो नाफा गत वर्षको सोही अवधिको भन्दा १.४० प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तसम्म २० वाणिज्य बैंकले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
अघिल्लो वर्षको तुलनामा गत वर्षको चैतमसान्तसम्म वाणिज्य बैंकको नाफा १३.४७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म २० वाणिज्य बैंकले ४७ अर्ब एक करोड ५३ लाख रुपैयाँ नाफा कमाएका थिए ।
सर्वाधिक नाफा वृद्धि हुनेमा नेपाल बैंक छ । यो बैंकले गत वर्षको चैत मसान्तसम्मको तुलनामा २०३२.८० प्रतिशतले नाफा वृद्धि गरेको छ । नेपाल बैंकले चैत मसान्तसम्म दुई अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत वर्षको चैत मसान्तसम्म यो बैंकको नाफा सर्वाधिक घटेको थियो । यो बैंकको नाफा ०८०/०८१ को तुलनामा गत वर्षको चैतसम्म ९२.६८ प्रतिशतले घटेको थियो । बैंकले ०८०/०८१ को चैत मसान्तसम्म एक अर्ब ७८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
चालु वर्षको तेस्रो त्रैमाससम्ममा ११ वाणिज्य बैंकको नाफा बढेको छ । बाँकी नौ वाणिज्य बैंकको नाफा घटेको छ । नाफा बढाउनेमा नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, ग्लोबल आइएमई, एभरेस्ट, माछापुच्छ्रे, सानिमा, नबिल, एनएमबि, प्रभु, नेपाल एसबिआई र लक्ष्मी सन्राइज बैंक छ ।
चैत मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ । यो बैंकले पाँच अर्ब १२ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैत मसान्तसम्म चार अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
२० मध्ये सबैभन्दा कम नाफा एनआईसी एशिया बैंकले कमाएको छ । यो बैंकले चैत मसान्तसम्म १५ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैत मसन्तसम्म यो बैंकले एक अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको चैत मसान्तसम्मको तुलनामा यसपालि सोही अवधिमा यो बैंकको नाफा ९१.८१ प्रतिशतले कम हो ।