
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मतभेद नराखी एकताबद्ध भएर देश बनाउन आह्वान गरेका छन् ।
शुक्रबार चितवनमा पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ ६ लेनको सडक खण्डको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सधैँ राजनीति र चुनावमा मात्रै ध्यान नदिई विकासका लागि सबै मतभेद हटाएर एकताबद्ध हुन आह्वान गरेका हुन् । विचारमा विविधिता हुन सक्ने भए पनि देशको विकासमा मतभेद नराख्न उनले आग्रह गरे ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्यमान्यताका साथ मुलुकलाई सुशासन कायम गर्दै मुलुकलाई विकासको बाटोतर्फ तीव्रताका साथ अघि बढाउन सरकारको ध्यान केन्द्रित रहेको धारणा राखे ।
प्रधानमन्त्री ओलीले मुलुकको विकासका साथै स्थिरता र स्थायित्व कायम गर्न ठूला दुई दल सरकारमा रहेको जिकिर गरे । उनले देशमा संविधानविपरीत र आपराधिक क्रियाकलाप गर्नेहरू कानुनभन्दा माथि हुन नसक्ने स्थापित भएको बताए । उनले एसियाली मापदण्डको सडकको सुरुवात चितवनको भरतपुरबाट भएको जिकिर गरे ।
त्यस्तै उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूमा सडक बनाउँदा युटिलिटी करिडोरको अवधारणा अगाडि बढाउनुपर्ने बताए । व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य बनाउन अहिले खोजिएको भन्दै उनले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आएको दाबी गरे ।
उक्त सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । सडक एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको हो ।