
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्ने इच्छा देखाएको छ ।
यूएईको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँग बिहीबार भएको भेटमा यूएईको स्वास्थ्य विभागका प्रमुख मनसुर इब्राहिम अल मनसुरीले उक्त इच्छा व्यक्त गरेका हुन् ।
भेटमा स्वास्थ्यमन्त्री पौडेलले नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट ‘अपग्रेड’ हुने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेकाले यूएई सरकारसँग सहयोगका निम्ति आग्रह गरेका थिए ।
नेपालले स्वास्थ्य क्षेत्रलाई ‘डिजिटलाइजेसन’ प्रविधिमार्फत अगाडि बढाउन चाहेको र ‘युनिभर्सल कन्भर्ज सिस्टम’अन्तर्गत स्वास्थ्य बिमा प्रणाली लागु गर्न चाहेकाले यूएईको सहयोग आवश्यक रहेको भेटमा स्वास्थ्यमन्त्री पौडेलले बताएका थिए ।
उनले नेपालमा मिर्गौला डायलासिस केन्द्रहरूको स्तरोन्नति र विस्तार तथा अंग प्रत्यारोपणका लागि सहयोग गर्न समेत आग्रह गरेका थिए ।
भेटमा यूएईका स्वास्थ्य विभागका प्रमुख मनसुरीले यूएई सरकार नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्न तत्पर रहेको बताएका थिए । यसको निम्ति दुई देशबीच सम्झौता गरी आपसी सहयोग र सहकार्य गर्न आवश्यक रहेको उनले जनाएका थिए ।
नेपालसँगको सम्बन्धलाई अझ मैत्रीपूर्ण र प्रगाढ बनाउन यूएई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार भएको, तर यसका लागि नेपाल सरकारबाट उपयुक्त वातावरण र कानुनी आधार तयार हुन आवश्यक रहेको उनले बताएका थिए ।
स्वास्थ्यमन्त्री पौडेलले भेटमा यूएईमा ठूलो संख्यामा नेपाली कार्यरत रहेको र यूएई नेपालीका लागि एक प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै नेपालीको हित र सुरक्षित रोजगारीका लागि स्तरीय तालिम उपलब्ध गराउन सहयोग गर्न पनि आग्रह गरेका थिए ।
स्वास्थ्यमन्त्री पौडेल यही १५ देखि १७ अप्रिल २०२५ सम्म अबुधाबीमा आयोजना भएको ‘अबुधावी ग्लोबल हेल्थ विक–२०२५’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी भएका थिए ।
विश्वका ९० देशका एक हजार ९०० प्रतिनिधि सहभागी भएको उक्त कार्यक्रममा विभिन्न देशका २०० विशेषज्ञ वक्ताको सहभागिता थियो ।