
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्न सक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले दर्ता गर्ने समयसीमा सकिन लाग्दासमेत फेसबुकसहितका कम्पनी दर्ताका लागि नआएको जानकारी दिए ।
नेपालको संविधान, ऐन तथा कानुनअनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन सकिने उनको भनाइ छ । उनले देशको स्वाभिमान बिथोल्ने गरी सामाजिक सञ्जालमा विभिन्न प्रचार हुने गरेको भन्दै त्यसको नियमन हुनुपर्ने बताए ।
उनले फेक आईडी बनाएर समाजमा विकृति निम्त्याउने तथा हिंसाको प्रवर्धन हुने गरी सामाजिक सञ्जालमा प्रचार हुने गरेको बताए । सामाजिक सञ्जाल नेपालमा दर्ता नभएकै कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक रोकिएको उनको भनाइ छ ।
"आज सोसल मिडिया प्लेटफर्म जसले चलाइरहेको छ नि जसले सञ्चालन गर्छ । त्यो सञ्चालन गर्नेहरूले यो मुलुकको संविधान मान्नुपर्ने कि नपर्ने ? जस्तो मेटा भनौँ, गुगल, टिकटक...। यिनीहरूले नेपालमा काम गर्ने भएपछि नेपालको कानुन मान्ने कि नमान्ने ? नेपालको संविधान मान्नुपर्ने कि नपर्ने ? यहाँ दर्ता हुनुपर्ने कि नपर्ने ?," उनले भने ।