
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको प्रक्रियामा छ । कार्यकारी निर्देशक भट्टले शुक्रबार बिहान कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिमिल्सिनालाई राजीनामा बुझाएका हुन् ।
राष्ट्र बैंकका प्रवत्ता रामु पौडेलले राजीनामा आएपछि केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले शुक्रबार स्वीकृति नभएको बताएका छन् ।
बाह्रखरीसँग कुरा गर्दै प्रवत्ता पौडेलले भने, "उहाँले आज (शुक्रबार) बिहान राजीनामा बुझाउनु भएको छ, त्यसको केही प्रक्रिया पूरा भएपछि आइतबार/ सोमबारसम्म स्वीकृति हुनेछ ।" राजीनामा स्वीकृति गभर्नरले गर्ने व्यवस्था छ ।
डा. भट्टले राष्ट्र बैंकको १८औँ गभर्नर बन्ने निश्चित भएपछि शुक्रबार कार्यकारी निर्देशकबाट राजीनामा गरेका हुन् । गत चैत २४ गते महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि सरकारले कार्यवाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर तिमिल्सिनालाई दिएको थियो । उनी पनि गभर्नर बन्ने दौडमा छिन् ।
गभर्नर छनोट समितिले दुई डेपुटी गभर्नरमध्ये एक र अन्य दुईजना गरी तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।