site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महासमिति बोलाउन देउवा तयार, ‘तर नेतृत्व परिवर्तन हुँदैन’

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयपछि नेतृत्वको चर्को आलोचना भइरहेका बेला कांग्रेस नेतृत्व महासमिति बैठक बोलाउन तयार देखिएको छ ।

तर नेतृत्व परिवर्तनसम्म हुनेगरी ‘विशेष महाधिवेशन’ मा भने जान नसकिने कांग्रेस नेतृत्वको तयारी छ ।

कांग्रेसका नेताहरु चन्द्र भण्डारी, गगन थापा, प्रदिप पौडेल, धनराज गुरुङ लगायतका नेताहरु भने तत्काल केन्द्रीय समितिको बैठक हुँदै महासमितिमा पुगेर विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सभापति शेरबहादुर देउवा निकटका नेता बालकृष्ण खाँणले महासमिति बैठक बोलाउने तर नेतृत्व परिवर्तनसम्मको बहसले स्थान नपाउने बताउँछन् ।

नेता खाँणले केन्द्रीय कार्य समिति बैठकमार्फत पार्टीको महासमिति बैठक डाकिए पनि केही नेताहरुले भनेअनुसार नेतृत्व परिवर्तन अहिले नहुने तर्क गर्छन् ।

‘‘पार्टी सभापतिले केन्द्रीय समिति बैठक डाक्छु भन्नु भएकै छ । केन्द्रीय समिति बैठकले महासमिति बैठकको मिति तय गर्ने हो,” बाह्रखरीसँगको कुराकानीमा उनले भने, ‘‘महासमिति बैठकमा नेतृत्व परिवर्तनको बहसले स्थान पाउँदैन ।’’ कांग्रेसले केन्द्रीय समिति बैठकपछि डाक्ने महासमिति बैठकमा पार्टीको आगामी रणनीति तय गर्नेदेखि लिएर विधान संशोधनसम्म गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

‘‘भर्खरै सम्पन्न निर्वाचनमा पार्टीले खेलेको भूमिका, आगामी भूमिका र रणनीतिबारे छलफल गर्न महासमिति बैठक बस्छ’’, उनले भने, ‘‘कांग्रेसको विधान परिवर्तन गर्न आवश्यक देखिएको छ । बैठकले विधान परिस्थितिकरण गर्छ ।’’ कांग्रेसको वर्तमान विधान परिवर्तन गरेर प्रादेशिक ढाँचामा लैजाने प्रदेश संरचनामा संगठन विस्तार गर्नुपर्ने आवश्यकता देखिएको नेता खाँणले बताए । 

‘‘अहिले कांग्रेसको संगठन गाउँपालिका, नगरपालिका, २४० निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रीय समितिको ढाँचामा छ’’ उनले थपे, ‘‘अव ३३० प्रादेशिक निर्वाचन क्षेत्र र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र अनुसार संगठन विस्तार गर्नुपर्ने आवश्यकता रहेकाले यसको निर्णय महासमिति बैठकबाट गर्छौं ।’’   

नेतृत्व परिवर्तन विधानसम्मत रुपमा गर्नुपर्ने जिकीर गर्दै नेता खाँणले केन्द्रीय समिति र महासमितिमा त्यो विषयले स्थान नपाउने बताउँछन् ।

तर महासमिति बैठकमा पार्टी सभापति, वरिष्ठ नेता, महामन्त्री लगायतका पदाधिकारी र केन्द्रीय सदस्यहरुले नेतृत्व परिवर्तनका लागि इच्छा प्रकट गरे विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न सकिने उनको भनाई थियो ।  भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले हार ब्यहोरे पनि कांग्रेसको एजेण्डा र राजनीतिक धारणा स्थापित भएको जिकीर गर्दै नेता खाँणले आगामी दिनमा संविधान कार्यान्वयन, शान्ति स्थापना, मुलुकको समृद्धि लगायतका विषयमा कांग्रेसको निर्णायक भूमिका रहने बताए । 

उता पार्टीको केन्द्रीय समिति र महासमिति बैठक डाक्नुपर्ने माग गर्दै आएका कांग्रेसका युवा नेताहरुको तयारी भने महासमिति बैठकले नै विशेष महाधिवेशनसम्म जाने निर्णय लिन सक्ने बताउँछन् । तर अहिले नै नेतृत्व परिवर्तनको पक्षमा आफूहरु नरहेको उनीहरुको भनाई छ ।

आइतबार केन्द्रीय समिति र महासमिति बैठक डाक्नु पर्ने माग गर्दै बिज्ञप्ती जारी गर्ने ७ जना मध्येका एक प्रदिप पौडेलले नेतृत्व परिवर्तन नै आफुहरुको प्रमुख एजेण्डा नभए पनि अहिले पार्टी पराजयको समीक्षाका लागि महासमिति आवश्यक रहेको बताए ।

‘‘निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा गर्दै बहस अघि बढाउन जरुरी छ । त्यही बहसले नेतृत्व परिवर्तन गर्छ भने वर्तमान नेतृत्व अभिभावक बन्न तयार हुनुपर्छ,” उनले भने ।

महासमिति बैठकले नेतृत्व यथावत राखे पनि आफुहरुलाई आपत्ति नभएको भन्दै युवा नेता पौडेलले परिवर्तनको ‘म्याण्डेड’ दिए नेतृत्व परिवर्तन गरेर वर्तमान नेतृत्वले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए । 

पार्टीलाई मजबुद बनाउन नयाँ शिराबाट अगाडि बढ्नुपर्ने जिकिर गर्दै उनले पार्टीको कार्य सम्पादन पद्धति, संगठनात्मक पद्धति, नेतृत्वको केन्द्रीकृत कार्यशैली परिवर्तन, नीति र योजनागत पक्षमा सुधार गरेर कांग्रेसको समाजवादलाई समय सान्दर्भीक रुपमा परिभाषित गर्न जरुरी रहेको बताए । पार्टी सुदृढिकरणका लागि गर्नुपर्ने परिवर्तनहरु अहिलेको नेतृत्वले गर्न सक्छ कि सक्दैन भन्ने बारेमा समीक्षा गर्नुपर्ने युवा नेता पौडेलको भनाई थियो । 

राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आइतबार कांग्रेसका ७ जना युवा नेताहरुले तत्काल पार्टीको केन्द्रीय समिति बैठक र महासमितिको बैठक बोलाउन माग गरेका थिए ।

कांग्रेस केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगन कुमार थापा, प्रदीप पौडेल र बद्री पाण्डेले राष्ट्रिय मेलमिलाप दिवसकै अवसर पारेर यस्तो माग गरेका हुन् । उनीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा पार्टीलाई वृहत सुत्रमा बाँध्नुपर्ने र सबै कार्यकर्तालाई न्यायको अनुभूति दिलाउन सक्नुपर्ने धारणा उल्लेख थियो । 


 

प्रकाशित मिति: सोमबार, पुस १७, २०७४  १८:२७
प्रतिक्रिया दिनुहोस्