
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यका गभर्नर ग्याभिन न्यूजमले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापि आयात कर लगाउने नीतिविरुद्ध मुद्दा दायर गरेका छन् । करयुद्धका कारण अहिले विश्व व्यापारमै उथलपुथल छ ।
अमेरिकी राज्यले आयात करविरुद्ध मुद्दा दायर गरेको यो पहिलो घटना हो । यसमा ट्रम्पले आपतकालीन अधिकारको आडमा कर लगाउने अधिकारको दुरुपयोग गरेको भन्दै त्यसविरुद्ध चुनौती दिइएको बीबीसीले जनाएको छ ।
क्यालिफोर्निया विश्वको पाँचौं ठूलो अर्थतन्त्र मानिन्छ । ट्रम्पको कर नीतिका कारण अमेरिकाका अन्य सबै राज्य र धेरै देशहरूलाई पछि पारेको छ । क्यालिफोर्निया अमेरिकाको उत्पादन र कृषि क्षेत्रको सबैभन्दा ठूलो केन्द्र हो ।
पत्रकार सम्मेलन गर्दै गभर्नर न्यूजम र राज्यका महान्यधिवक्ता रब बोन्टाले मुद्दा दायर गरेको घोषणा गरेका थिए । गभर्नर न्यूजमले अन्य राज्यमा भन्दा क्यालिफोर्नियामा आयात करको असर धेरै परेको बताए ।
तर, राष्ट्रपतिको कार्यालयले आयात कर घोषणालाई अन्तर्राष्ट्रिय व्यापारमा असन्तुलनलाई कम गर्ने उपाय भनेको छ । राष्ट्रपति कार्यालयलका प्रवक्ता कुश देसाईले भने, “क्यालिफोर्नियामा बढ्दो अपराध, सुकुम्बासी र महँगीविरुद्ध काम गर्नुको सट्टा न्यूजमले देशको व्यापार घाटा समाधान गर्न ट्रम्पले गरेको ऐतिहासिक प्रयासलाई अवरुद्ध गर्न खोजेका छन् ।”