
काठमाडौं । सन् १९९० को दशकमा हरेक गोलकिपर एक खेलाडीको फ्रि–किक प्रहारअघि सजक बन्थे । त्यो दशकमा एक खेलाडीको फ्रि–किक प्रहार यति रफ्तारमा जान्थ्यो कि गोलकिपरले बलको भेउ नै लगाउन सक्दैनथे । बलले गोलीको रफ्तारझै पोष्टको जाली चुमेपछि मैदानमा उपस्थित दर्शकको मुहारमा अप्रत्याशित भाव देखिन्थ्यो ।
सन् १९९७ मा ब्राजिल र फ्रान्सबीच खेल भइरहेको थियो । ब्राजिलले पोष्टभन्दा करिब ४० यार्ड टाढा फ्रि–किक अवसर पायो । उक्त अवसरमा कार्लोसले करिब १८ यार्ड दौडिएर गरेको फ्रि–किक प्रहारले सिधै जाली चुम्यो । फ्रान्सका गोलकिपरले प्रतिक्रियाका निम्ति समय समेत पाएनन् । त्यही समयदेखि यो खेलाडीको एउटा छुटै पहिचान बन्यो ‘फ्रि–किक मास्टर’ । ती खेलाडी थिए, रोबर्टाे कार्लाेस डा. सिल्भा रोचा अर्थात् रोबर्टो कार्लोस । उनी ‘फुटबलकै इतिहासमा सबैभन्दा आक्रामक मानसिकता भएका लेफ्ट ब्याक’ को उपनामले पनि परिचित छन् ।
विश्वलाई नै आफ्नो फ्रि–किक प्रहारबाट मोहित बनाएका उनै कार्लोस नेपालमा आउँदैछन् । उनी शुक्रबार र शनिबार (वैशाख ५ र ६) गरी दुई दिनका निम्ति नेपाल आउन लागेका हुन् । कार्लोस नेपाल सुपर लिग (एनएसएल)को पहिलो क्वालिफायरमा प्रमुख अतिथिको रूपमा रहने छन् ।
को हुन् रोबर्टो कार्लाेस ?
९० को दशकमा उनको खेलबाट प्रभावित नहुने सायदै कोही फुटबल समर्थक हुन्थे । कार्लोसको जन्म सन् १९७३ अप्रिल १० मा ब्राजिलको साओ पाउलोको गार्सियामा भएको थियो । स्वभावैले ब्राजिलको फुटबल संस्कारमा हुर्किएका कार्लोसले १९८८ देखि व्यावसायिक फुटबलमा पाइला चालेका थिए । ब्राजिलको उनाओ साओ जोवाओ क्लबबाट व्यावसायिक करियर थालेका उनले अधिकांश समय स्पेनिस जायन्ट रियाल मड्रिडमा बिताए ।
सन् १९९७ मा उनको फ्रि–किक प्रहार १६९ किलोमिटर प्रतिघण्टा मापन गरिएको थियो । फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट ‘लेफ्ट ब्याक’मा आफूलाई स्थापित गराएका कार्लोसलाई सन् २००४ मा पेलेले विश्वकै सबैभन्दा उत्कृष्ट १०० खेलाडीमा समेत समावेश गरेका थिए ।
रक्षकको भूमिकामा आफूलाई परिचित गराए पनि कार्लोसले करियरको सुरुआत भने फरवार्डबाट गरेका थिए । १९९२ मा १९ वर्षको उमेरमै राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा डाकिएपछि भने कार्लोसको करियरले पछाडि फर्किनु परेन । त्यसको अर्को वर्ष उनी दक्षिण अमेरिकाकै चर्चित क्लबमध्येको एक पाल्मेरसमा अनुबन्ध भए । जहाँ दुई सिजन बिताउँदा उनले लगातार दुई सिजन नै ब्राजिलियन लिगको उपाधि जिते ।
सन् १९९५ मा इटालियन सिरी ‘ए’ को क्लब इन्टर मिलानबाट उनले युरोपियन फुटबलमा पाइला राखे । सिरी ‘ए’ मा एक सिजन मात्रै बिताएका कार्लोस त्यसको अर्को वर्ष स्पेनिस क्लब रियाल मड्रिडमा अनुबन्धित भए । रियाल त्यही क्लब हो, जसलाई कार्लोसले आफ्नो व्यावसायिक करियरमा ‘पहिचानसहितको घर’ बनाएका थिए ।
रियालबाट ११ सिजन बिताउँदा उनले स्पेनिस राजधानीको यो क्लबबाट सबैखाले प्रतियोगितामा गरी ५८४ खेल खेल्दा ७१ गोल गरे । रियालमा रहँदा उनले तीन च्याम्पियन्स लिग, दुई इन्टर कन्टिनेन्टल कप, एक युरोपियन सुपर कप, चार ला लिगा र तीन स्पेनिस सुपर कपको उपाधि जिते । सन् २०१३ मा चर्चित स्पेनिस उनी फुटबल इतिहासमा व्यावसायिक र अन्तर्राष्ट्रिय करियर गरी एक हजार १०० खेल खेल्ने निकै कम खेलाडीमध्ये पर्दछन् । उनले सन् २०१४ मा व्यावसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका थिए ।
व्यावसायिकजस्तै सफल अन्तर्राष्ट्रिय करियर
ब्राजिलबाट सन् १९९२ मा ‘डेब्यु’ क्याप जितेका कार्लोसले कुल १२८ क्याप जितेका छन् । उनले तीनपटक फिफा विश्वकप खेल्दा सन् २००२ को उपाधि जितेका थिए । सन् १९९८ मा ब्राजिलले फाइनलसम्मको यात्रा तय गर्दा पनि कार्लोस टिमका महत्त्वपूर्ण सदस्य थिए । यसबाहेक, उनले ब्राजिलबाट दुईपटक कोपा अमेरिका र फिफा कन्फेडेरेसन कपको समेत उपाधि जितेका छन् । उनले सन् २००६ को जुलाईमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे ।