site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महिला संघ विवाद : शेखरनिकट केन्द्रीय सदस्यको सामूहिक राजीनामा 

काठमाडौं । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको केन्द्रीय समितिमा शेखर कोइराला पक्षका २० जनाले सामूहिक राजीनामा दिएका छन् । 

महिला संघलाई अध्यक्ष उषा रावतले विधानअनुसार संचालन नगरेको, कुनै कार्यक्रम दिन नसकेको, केन्द्रीय समितिमा आएको सुझावलाई बेवास्ता गरेको र समयमा महाधिवेशन गराउन उचित कदम नचालेको कारण देखाएर ५३ मध्ये २० जना केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका हुन् । 

Argakhachi Cement Island Ad

राजीनामा दिनेमा केन्द्रीय सदस्यहरू चन्द्रादेवी जोसी, रीता शाही, छाया सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा. सीता घिमिरे, तारा थपलिया, सुस्मा तिवारी, लक्ष्मी बाराकोटी, नबोदिता चौधरी, भगवती चौधरी, मिरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वती आचार्य छन् । 

“हाम्रो दुई वर्षको कार्यकालमा एउटा मात्र बैठक बस्न सक्यो । जिल्लाजिल्लामा उहाँले महिला संघका कार्यरत सभापतिहरूलाई आफू खुसी हटाउनुभयो । महिला संघमा काम नै नगरेकालाई ल्याएर सभापति तोक्ने काम गर्नुभयो,” राजीनामा दिने टिमको नेतृत्व गरेकी जोसीले बाह्रखरीसँग भनिन्, “महाधिवेशन गर्न पाएको म्याद गत असार मसान्तसम्म थियो । पार्टीले निर्देशक समिति बनाएर महाधिवेशन गराउने भने पनि उहाँले केन्द्रीय समितिमा छलफल समेत गर्नुभएको छैन ।” 

जोसीले अध्यक्ष रावतले आफू खुसी कार्यतालिका निकालेको र कार्यतालिका अनुरुप काम पनि अघि बढाउन नसकेको बताइन् । 

त्यसबाहेक पार्टीले गठन गरेको निर्देशक समितिको निर्देशन पनि उनले नमानेकाले राजीनामा दिने टिमको आरोप छ । 

“यहाँ त महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशक समितिको निर्देशन समेत पालना भएको छैन । ५३ सदस्यीय केन्द्रीय समितिमा उहाँ आफूबाहेक तीनजनालाई लिएर हिड्नुभएको छ,” जोसीले भनिन्, “उहाँले जिल्लामा देखिएको विवाद मिलाउन र क्रियाशील सदस्यता वितरण गर्न टोली गठन गर्ने निर्देशक समितिको निर्देशन उल्लंघन गरेर हिड्नुभएको छ ।” 

अध्यक्ष रावतले कसैको कुरा नसुनेपछि सामूहिक राजीनामाको निर्णयमा पुगेको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्