
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यहाँको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयका लागि छुट्टाएको दुई अर्ब डलरभन्दा बढीको संघीय कोष रोक्का गरेको घोषणा गरेको छ ।
उक्त प्रतिष्ठित विश्वविद्यालयले ह्वाइट हाउसले आदेश गरेका विभिन्न मागहरू पूरा गर्न अस्वीकार गरेको भन्दै ट्रम्प प्रशासनले उक्त रकम रोक्का गरेको बीबीसीले जनाएको छ ।
ट्रम्प प्रशासनले शुक्रबार हार्वर्ड विश्वविद्यालयलाई पत्र पठाएर विश्वविद्यालयमा यहूदीविरोधी भावनालाई अन्त्य गर्ने, भर्ना प्रक्रिया र प्रवेश प्रणालीमा परिवर्तन गर्ने विभिन्न माग गरेको थियो ।
हार्वर्ड विश्वविद्यालयले सोमबार विज्ञप्तिमार्फत ट्रम्प प्रशासनले भनेका उक्त मागहरू पूरा गर्न अस्वीकार गरेको थियो ।
अमेरिकी शिक्षा मन्त्रालय (विभाग)ले जारी गरेको बक्तव्यमा हार्वर्डको विज्ञप्तिले देशको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयमा रहेको समस्याग्रस्त मनोभावनालाई अभिवृद्धि गरेको बताएको छ ।