
काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
सोमबार मूलपानी क्रिकेट मैदान (माथिल्लो)मा नेपालले ओमानविरुद्ध आठ विकेटको जित निकालेको हो ।
खेलमा ओमानले प्रस्तुत गरेको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा नीरजकुमार यादवले ४६ रन बनाए । साहिल पटेलले ४४, कप्तान नरेन भट्टले अविजित १२ र सन्तोष यादवले अविजित १० रन बनाए ।
ओमानबाट दुवै विकेट सौम्यभविन सम्पतले लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो ।
ओमानका जीत व्रजेश साहले ७८ बलमा ६ चौकको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी सिद्धार्थ सौम्य शंकरले १६ र प्रतिश हेमा रमेशले १० रन बनाए ।
नेपालका युवराज खत्रीले सात ओभरमा दुई मेडनसहित १५ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी सन्तोष यादवले दुई तथा अपराजित पौडेल, अशोक धामी र दयानन्द मण्डलले समान एक विकेट लिए ।
पहिलो खेलमा नेपालले यूएईलाई डववर्थ लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रनले पराजित गरेको थियो । ओमानले अफगानिस्तानसँग आठ विकेटको हार बेहोरेको थियो ।
जितसँगै दुई खेलमा चार अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । दुवै खेलमा पराजित ओमान अंकविहीन छ ।
अब नेपालले बुधबार हङकङको सामना गर्नेछ ।