
काठमाडौं । अभिषेक शर्माको शतकप्रेरित सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सविरुद्ध आठ विकेटको जित निकालेको छ । प्रतियोगितामा हैदराबादको यो दोस्रो जित हो ।
शनिबार (अप्रिल १२) हैदराबादमा पञ्जाबले प्रस्तुत गरेको २४६ रनको लक्ष्य हैदराबादले नौ बल बाँकी छँदै दुई विकेट गुमाएर पूरा गर्यो । हैदराबादको जितमा अभिषेकले शतक बनाए । उनले ५५ बलमा १४१ रन बनाउँदा १४ चौका र १० छक्का प्रहार गरे । ट्राभिस हेडले ३७ बलमा ६६ रन जोडे ।
यी दुईले पहिलो विकेटका निम्ति १२.२ ओभरमा १७१ रनको साझेदारी गर्दै हैदराबादलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । यसबाहेक हेनरिक क्लासेनले २१ र इशान किशनले नौ रन थपे ।
पञ्जाबका अर्शदीप सिंह र युजवेन्द्र चहलले समान एक विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २४५ रन बनाएको थियो । पञ्जाबका कप्तान श्रेयस ऐयरले ८२ रन बनाए । वसिमरान सिंहले ४२ रनको योगदान गरे । प्रियांन्स आर्याले ३६, मार्कुस स्टोइनिसले ३४ र नेहल वाधेराले २७ रन थपे ।
हैदराबादका हर्सल पटेलले चार विकेट लिए । इशान मालिंगाले दुई विकेट लिए ।
योसँगै ६ खेलबाट चार अंक जोडेको हैदराबाद तालिकाको आठौँ स्थानमा छ । पराजित पञ्जाब ६ अंकसहित छैटौँ स्थानमा कायमै छ ।