
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै त्यसका विरुद्ध हस्ताक्षर अभियान सुरु गरेको छ । पार्टी स्थापना दिवसका अवसरमा शनिबार (असार ७) काठमाडौंको माइतीघरमा एक कार्यक्रम गर्दै रास्वपाले हस्ताक्षर अभियान थालेको हो ।
लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको सम्वर्द्धनका निम्ति सदनका साथै सडकमा आएर तेस्रो स्थापना दिवस मनाएको रास्वपाका नेताहरूले जनाएका छन् ।
रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले देशका निम्ति धेरै काम गर्दा लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको जिकिर गरे । भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नबाट रोक्ने कार्य भएको भन्दै उनले अब जनताले रास्वपालाई साथ दिनुपर्ने बताए ।
१२ लाखभन्दा बढी जनताले दिएको मत सदुपयोग गर्न आफूहरू खटिइरहेको उनले उल्लेख गरे । रास्वपालाई साथ दिने जनतालाई राज्यले अपमान गरिरहेको उनको भनाइ थियो ।
उनले राज्यको निकायमा रास्वपाको प्रभावकारी उपस्थिति भए हाल भ्रष्टाचार गर्नेहरू देश छाडेर भाग्ने अवस्था आउने बताए । हिमालयन टेली भ्वाइस