
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान पुनरवलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा अहिले धेरै कुरा रहे पनि सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने बताए ।
अहिले कांग्रेस र एमाले सम्मिलित सरकार रहेकाले सरकारका काम कारबाहीमा कांग्रेसले खबरदारी गर्नुपर्नेमा उनको जोड छ । एमाले नेपाली कांग्रेसका लागि प्रतिष्पर्धी भएकाले सोचेर अघि बढ्न जरुरी रहेको कोइरालाको जोड छ ।
संविधान पुनरवलोकन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके जनता अझै आक्रोशित हुने उनको भनाइ छ । दण्डहिनता दिनप्रतिदिन बढिरहेको उनले बताए ।
“यो सरकारले संविधान पुनरवलोकन, संशोधन गर्ने कुरा गरेको छ । यसमा अब ढिलाइ नगरौँ । जति ढिलो हुन्छ, त्यति सडक आक्रोशित हुन्छ,” कोइरालाले भने, “सुशासन वास्तवमा छैन भने पनि हुन्छ । सुशासन दिलाउन कन्जुस्याईं नगरौँ ।”
दण्डहिनता बढेको उनले बताए । यसलाई नियन्त्रण गरेर अघि जान सकिने उनको विश्वास छ ।
कोइरालाले अमेरिकाको कर नीति तेस्रो विश्वयुद्धभन्दा पनि ठूलो हुने खतरा रहेको जिकिर गरे ।
सुलभ स्वास्थ्य कसरी दिने भन्नेबारेमा नेपालीले सोच्नुपर्ने उनको धारणा छ । नेपाल आफ्नै खुट्टामा उभिनसक्छ भन्ने सोच राखेर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । —न्युज एजेन्सी नेपाल