site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भावुक बनाउने खोटाङका दुई प्रसंग
Tiktok banner adTiktok banner ad

तीस वर्ष बढी भएछ मैले खोटाङ छाडेको । त्यहाँका उत्साहपूर्ण आँखाहरूले गहभरि आँसु पारी बिदा दिएको, त्यहाँका परिश्रमी हातहरूले जीवनमा कर्मठताको ज्ञान दिएको, रावा, सावा र साप्सु खोलाहरूले माया गरेका कुराहरू हिजैजस्तो लाग्दछ । तर, दिनहरू यसरी बितिसकेछन् र आफू बुढो भएको थाहा हुन्न रहेछ ।

खोटाङ अझ दिक्तेल सम्झनासाथ त्यहाँका धेरै प्रसंगहरू, परिवेशहरू र सम्झनाहरू आउँछन् । एक प्रशासकको हैसियतले तीनै वर्ष देशका लागि महत्त्वपूर्ण र उल्लेखनीय कार्यहरू गरी आएको (जनमतसंग्रह २०३६, रा.पं. सदस्यको निर्वाचन २०३७ र जिल्ला तथा गा.पं. सदस्यहरूको निर्वाचन २०३८) सम्झदा गर्वको अनुभव हुन्छ ।

अहिलेको पुस्ताका लागि अस्वाभाविकजस्तो लागे पनि कर्मचारी भएर तत्कालीन सरकारको नुन खाएको नाताले दिएको जिम्मेवारी पूरा गर्नु मेरो कर्तव्य थियो ।

प्रशासक भएका बेला त्यस जिल्लाका केही निरीह आँखाहरूलाई सहयोग पुर्‍याई तिनको जीवनलाई उज्यालो बनाएका केही संस्मरणहरू मसँग सजीव छन् । तिनलाई उल्लेख गर्न चाहन्छु ।

एकपटक जिल्लाको उत्तरी क्षेत्रको भ्रमणमा थिएँ । ऐँसेलुखर्कबाट उत्तरतिर बाकाचोल गइरहेको थिएँ । त्यहाँबाट देखिने हिमालको दृश्य साह्रै मनमोहक र रमाइलो थियो । हिमाल एकदम प्रस्ट देखिन्थ्यो र त्यसले आमन्त्रण गरिरहेको अनुभव हुन्थ्यो ।

तर, एकैछिनमा दृश्य बदलियो र घनघोरसँग पानी पर्न लाग्यो । लेकको ठाउँ हुनाले जाडो पनि भयो । बाटो धेरै कठिनसँग काटिरहेको थिएँ । अचानक बाटोमा यौटी ४५–५० उमेरकी स्वास्नीमान्छे त्यस्तो मुसलधारे पानीमा बाटोमा बसी रोइरहेकी भेट्टाएँ । 

मैले नसोधिरहन सकिनँ, “तिमी को हौ र यो पानीमा बसेर किन रोइरहेकी छ्यौ ?”

“म सीडीओ साहेबलाई भेट्न बसेकी ।” उसको बोली प्रस्ट थिएन ।

“म नै सीडीओ हुँ र तिमीलाई के भयो ?” मैले भनेँ ।

पानी दर्किरहेको थियो । जंगल धेरै बाक्लो थियो र पानीको आवाजले जंगलका पातहरू कराउँदा यौटा भयावह वातावरण उपस्थित थियो । उसले धेरै लामो बेलीविस्तार लगाई, मैले केही बुझेँ, केही बुझिनँ । तर, यत्तिचाहिँ बुझेँ कि ऊ आफ्ना ४–५ जना छोराछोरीहरूलाई लिएर बसाइँ जान लागेकी छ, यस ठाउँलाई छाडेर ।

उसको लोग्नेले आजभन्दा २०–२५ वर्षअघि लिएको ऋण तिर्न नसकी लोग्ने मर्‍यो । त्यही रुपैयाँबापत घर, गाईवस्तु जग्गापात सबै साहुले (एकजना लामा वा तामाङ के हो ?) लिन लाग्यो । उसको सहारा केही छैन र अब कहाँ जाने हो, उसलाई केही पनि थाहा छैन ।

‘भोलि बिहान पञ्चायतमा आउनू’ भनी म त्यहाँबाट हिडेँ ।

त्यो रातभरि मैले उसैलाई सम्झिरहेँ । ऊ उमेरभन्दा बुढी देखिएकी थिई र उसका आँखाहरूमा भयानक दुःख र पीडा थियो । एकजना प्रशासकको कर्तव्य हो, उसलाई यी सबबाट मुक्ति दिने । मलाई लाग्यो– सायद यही स्वास्नीमान्छेको उद्धारका लागि म यहाँ आएको छु । भगवान्ले मलाई यहाँ ल्याएका हुन् । मैले भगवान्लाई सम्झिरहेँ सम्झिरहेँ ।

बिहान भयो, आकाश राम्रोसँग खुल्यो । म पञ्चायत पुगेँ । जिल्ला पञ्चायत सदस्य पूर्णबहादुर श्रेष्ठ मसँग हुनुहुन्थ्यो । सो आइमाई आइसकेकी थिई र मलाई देख्नासाथ हात जोडी । मैले उसको कुरा बुझिसकेको थिएँ ।

“तिम्रो घरबार लिने साहु कहाँ छ ?”

“यहीँ गाउँको हजुर !”

मैले साहुलाई लिन पठाएँ । यौटा पुड्को, मोटोमोटो, बुढो तामाङ आएर हात जोडी भन्न लाग्यो, “२०–२५ वर्षदेखि यस आइमाईले मेरो ऋण तिरिन हजुर । यसको लोग्नेले ऋण लिएको थियो, गाह्रोसाह्रो खाँचोमा मैले गर्जो टारेको थिएँ । अब म के गरूँ हजुर !”

“तिम्रो तमसुक खै ?” मैले तमसुक लिएँ र हेरेँ । २०१५–१६ सालतिरको तमसुक रहेछ, ४–५ सय रुपैयाँको होला । भूमिसुधार लागु भएपछि त्यस तमसुकको ऋण निश्चित पनि गरेको रहेनछ ।

त्यस आइमाईका चार छोरा र एक छोरी पनि त्यहाँ आइपुगिसकेका थिए र मलाई क्वारक्वारर्ती हेर्न लागेका थिए । मैले सबै जनसमूहका अगाडि त्यस तमसुकलाई धरधरी च्यातिदिएँ र भने, “यसको ऋण सिद्धियो । तिमीले आफ्नो घरबार, जग्गा केही छाड्न पर्दैन । निस्फिक्रीसँग बस्नू र बसाइँ जाने जरुरत छैन । यसले केही गरे मलाई खबर गर्नू ।”

“म अन्यायमा परेँ हजुर ! महाअन्यायमा ।” तामाङ करायो ।

“मैले ठिक गरेँ । तिमीले यसको केही लिन पाउँदैनौ । यसलाई दुःख दियौ भने म तिमीलाई थुनिदिन्छु ।” भावुक बनाउने घटना भए पनि म भित्रैदेखि दह्रो भएँ । अनि, त्यस स्वास्नीमान्छेलाई त्यसका केटाकेटीहरूलाई हेरेँ । तिनका आँखामा, अनुहारमा खुसीका जुन लहरहरू, जुन उद्वेगहरू मैले पाएँ । (म लेख्न सक्तिनँ, मसँग शब्दहरू छैनन्, म क्षमा पाऊँ !)

भगवान्ले तिनको रक्षा गर्न मलाई पठाए – भगवानलाई धन्यवाद । यौटा नेपाली परिवारलाई बरबाद हुनबाट मैले जोगाएँ ।

पछि सुनेँ– तामाङले मेरो नाममा धेरै माथिमाथिसम्म उजुरी गर्‍यो रे, राजदरबारसम्म पनि । ऊ सधैँ मलाई गाली गरेर बस्छ, श्राप दिएर हिँड्छ ... । आदि इत्यादि । 

तर, मैले जो गरेँ ठिक गरेँ – मलाई यस्तै केही अहिले पनि लागिरहन्छ ।

फेरि अर्को प्रसंग छ । म पश्चिम–दक्षिण क्षेत्र हलेसीको भ्रमणमा थिएँ ।

एउटा गाउँमा पुगेँ, दूधकोसी छेउको । त्यहाँ पुग्नासाथ एक हुल मान्छेहरूले मलाई घेरे । ती सबको यौटा आवाज थियो, “गाउँको जंगल सखाप भयो, बोटबिरुवाको नामनिसान देख्न पाइएन । दाउरा र घाँसपातलाई त जंगल नहुने भयो भयो, लास समेत जलाउन पाइएन ।”

“जंगल कसरी कसले नास गर्‍यो ?” मैले त्यस हुललाई सोधेँ ।

“यही बस्नेतले हजुर ! राजदरबारमा मेरो भाइ सेनामा छ भन्छ । जंगल मेरो हो भन्छ र दिनहुँ एकदुई रुख ढलाउँछ । अब त बुट्यान मात्र बाँकी छन् ।”

मैले त्यस बस्नेतलाई बोलाउन पठाएँ । कुरा बिल्कुलै साँचो थियो । ऊ केही बोल्न सकेन । मैले उसलाई त्यहीँ पक्राउ गरी सदरमुकाम लिएर हिडेँ । उसमाथि वन मुद्दामा कारवाही भयो ।

उसलाई केही दिन जेल राखियो । पछि धरौटीमा छाडियो । पछि दुइटा कुरा एकैपटक मैले सुनेँ– बस्नेत बसाइँ सरेको र त्यो ठाउँमा अब राम्रो जंगल भएको ।

(प्रसिद्ध आख्यानकार परशु प्रधानको संस्मरणात्मक कृति ‘जिन्दगीका मोडहरू’बाट ।)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro