site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ वर्षको पहिलो दिन यस्तो हुनेछ मौसम
फाइल तस्बिर ।

काठमाडौं । नयाँ वर्ष नजिकिएको छ । आउँदो सोमबारदेखि विक्रम संवत् २०८२ सुरु हुँदै छ । नयाँ वर्ष सुरुआतका अवसरमा घुमफिर, भेटघाट, साथीभाइ, इष्टमित्रसित रमाइलो गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन र पूर्वसन्ध्यामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गर्ने गरिएको छ । वैशाख १ गते भक्तपुरमा बिस्काः जात्राको मुख्य दिन पनि हो ।

हुँदैन बाधक
जात्रा वा नयाँ वर्षमा रमाइलो गर्न मौसम बाधक नहुने सम्भावना छ । अर्थात्, त्यस दिन ठूलो प्रभाव पर्ने किसिमको वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तर, प्रिमनसुनमा हल्का वर्षाको सम्भावना नकार्न सकिन्न ।

त्यसो भए वैशाख १ गतेको मौसम कस्तो हुने सम्भावना छ ? मौसमविद्लाई प्रश्न गर्‍यौँ ।

“तत्कालको अवस्थाबाट हेर्दा सोमबार (वैशाख १) वेदर (मौसम) ठूलो डिस्टर्ब हुने सम्भावना छैन,” मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बाह्रखरीसित भनिन् ।

हाल प्रिमनसुन (मार्च, अप्रिल र मे) अवधि हो । यो बेला स्थानीय वायुका कारण अपराह्नमा हल्का वर्षाको सम्भावना भने रहन्छ । नयाँ वर्ष (सोमबार)को दिन केही भूभागमा सामान्य पानी पर्न सक्ने उनले बताइन् । “पहाडी क्षेत्रमा कतैकतै क्षणिक वर्षा हुनसक्छ,” उनले भनिन्, “ठूलो असर गर्ने खालको सम्भावना छैन । तर, यो हरेक दिन अपडेट हुन्छ ।”

हालको अवस्थाबाट अनुमान गर्दा त्यस दिन काठमाडौं, भक्तपुरमा पनि मौसमका कारण व्यवधान हुने सम्भावना नरहेको उनले बताइन् ।

कमजोर हुँदै प्रभाव
गएको मंगलबार (चैत २६)देखि देशमा पश्चिमी र स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायु (पानीको कणसहितको हावा)को संयुक्त प्रभाव रह्यो । योबीचमा अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त वायुको समेत केही प्रभाव रहेको उनले बताइन् ।

पानी पार्ने यही संयुक्त प्रणालीको प्रभावले बदली, वर्षा, असिना, चट्याङ र हिमपात भएको हो । त्यसको प्रभाव बुधबार (चैत २७) राति र बिहीबार (चैत २८) धेरै देखियो ।

“यो प्रणालीको प्रभाव अझै छ । यो पूर्ण रूपमा हट्ने भन्ने हुँदैन, कमजोर हुँदै जाने हुन्छ,” मौसमविद् कँडेलले भनिन्, “हिजोअस्तिको तुलनामा अब यसको प्रभाव कम पर्ने देखिन्छ । बदली र वर्षाको प्रभाव घट्दै जान्छ ।”

डराउनु पर्दैन : विज्ञ उप्रेती
जलवायुविज्ञ धर्मराज उप्रेती भने शनिबार (चैत ३०) साँझदेखि यो संयुक्त प्रणालीको प्रभाव हट्ने बताउँछन् । “नेपालको पूर्वी भाग हुँदै भोलि साँझदेखि यो सिस्टमको प्रभाव बाहिरिने देखिन्छ,” उनले भने, “भारतका मेघालय, असम, सिलीगुढीमा भने पर्सिसम्म भारी वर्षाको सम्भावना छ ।”

उनका अनुसार, नयाँ वर्ष (वैशाख १)को दिन देशमा अपराह्नपख हल्का वर्षाको सम्भावना छ । “नयाँ वर्षको दिन बिहान सफा छ,” उनले भने, “अपराह्नमा केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।”

तर, नयाँ वर्षको दिन देखिएको वर्षाको सम्भावना ठूलो होइन । काममा बाधा हुने खालको छैन । “डराउनुपर्ने खालको होइन,” उनले भने, “प्रदूषण घटाउन भने मद्दत गर्ने हुनसक्छ ।”

नयाँ वर्षको दिन दिउँसो १/२ बजेपछि सामान्य वर्षाको सम्भावना देखिएको उनले स्पष्ट पारे । त्यस दिन काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।

“प्रिमनसुनमा हावाहुरी, चट्याङ, असिना पनि पर्ने सम्भावना हुन्छ,” उनले भने, “यस्तो प्रभाव कहिले तिब्बत (चीन)तिर बढी पर्छ, कहिले तल (नेपाल)मा पर्छ ।”

नयाँ वर्षको अघिल्लो दिन अर्थात् चैत ३१ गते साँझ पनि देशमा हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

नयाँ प्रणाली भित्रने
विज्ञ उप्रेतीले पानी पार्ने अर्को प्रणाली वैशाख २ गते नेपाल भित्रने सम्भावना रहेको बताए । त्यो पश्चिमी वायुकै प्रणाली हुने उनले स्पष्ट पारे । “वैशाख २ गते भित्रिएर ४ गतेसम्म त्यसको प्रभाव रहने देखिन्छ,” उनले भने ।

उनका अनुसार, त्यो पनि ठूलो असर गर्ने प्रणाली होइन । त्यसको प्रभावले केही ठाउँमा मध्यमसम्म वर्षा हुनसक्छ । अरू भूभागमा हल्का वर्षाको सम्भावना छ । “तराई र पूर्वी नेपालमा अलिकता मध्यमसम्म वर्षा हुनसक्छ,” उनले भने, “तर, यसबारे आगामी दिनमा अझ स्पष्ट हुँदै जान्छ ।”

मौसमविद् कँडेल र जलवायुविज्ञ उप्रेती दुवैले आज (चैत २९) अपराह्नमा पनि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro