site stats
बाह्रखरी :: Baahrakhari
खेल
समर्थकहरूको असन्तुष्टिबीच आर्सनलविरुद्ध खेल्दै रियाल

काठमाडौं । पछिल्लो एक दशकमा ६ पटकसम्म च्याम्पियन लिगसहित अघिल्लो वर्ष स्पेनिस र युरोपियन च्याम्पियन बन्दै आफ्नो माथिल्लो स्तर कायम राखेको रियाल मड्रिड यो सिजन भने संघर्षरत देखिन्छ । यसकारण घरेलु समर्थक टोलीबाट असन्तुष्ट देखिन्छन् ।

तर, मड्रिडका मुख्य प्रशिक्षक कार्लाे एन्सेलोट्टी आलोचनाप्रति बेखबर देखिन्छन् । उनको नेतृत्वमा रहेको रियाल मंगलबार च्याम्पियन लिगको क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगमा आर्सनलसँग खेल्न तयारीमा व्यस्त छ ।

“हामी प्रत्येक तीन खेलमा खेल खेलिरहेका छौँ, यसैकारण हामीसँग आलोचनाबारे सोच्ने समय छैन,” च्याम्पियन्स लिगको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा एन्सेलोट्टीले भने, “हामी हरेक खेललाई मूल्यांकन गरेर अर्काे खेलका निम्ति तयारी गर्छाैं । भोलिको खेल महत्त्वपूर्ण छ, तर यो नै निर्णायक भने होइन ।”

Argakhachi Cement Island Ad

गत सिजन दुई खेलमात्र गुमाएर गल्तिविहीन यात्रा तय गर्दै च्याम्पियन लिग र ला लिगाको उपाधि जितेको रियालमा यो सिजन फ्रान्सका कप्तान केलियन एमबाप्पेको आगमनले समर्थकमा अपेक्षा झनै बढाएको थियो । 

तर, एमबाप्पेको आगमनले रियालले यो सिजन झन् बलियो देखिएन, उल्टै लयका निम्ति संघर्षरत बन्यो । रियालले यो सिजन स्पेनिस ला लिगाका पाँच खेलमा हार बेहोरिसकेको छ, जसमा चिर–प्रतिद्वन्द्वी बार्सिलोनासँगको लज्जास्पद हार पनि समावेश छ । 

शनिबार घरेलु मैदान सान्टियागो बर्नबेउमा भ्यालेन्सियासँग २–१ को निराशाजनक हार बेहोरेपछि रियाल ६३ अंकसहित ला लिगा अंक तालिकाको दोस्रो स्थानमा छ । 

च्याम्पियन्स लिगको प्लेअफमा प्रिमियर लिग विजेता म्यानचेस्टर सिटी र अन्तिम–१६ मा एट्लेटिको मड्रिडविरुद्ध जित निकाल्नुले रियालका प्रशिक्षक एन्सेलोट्टीमा आत्मविश्वास बढेको छ । 

“यदि मलाई हामीले सिजन उपाधि जित्छौँ भन्ने कुरामा विश्वास हुँदैनथ्यो भने मैले पहिले नै यो काम छाडिसकेको हुन्थेँ । म छुट्टिमा बस्थेँ होला,” एन्सेलोट्टीले भने, “च्याम्पियन लिगमा हामीले बटुलेको अनुभव एकदम महत्त्वपूर्ण छ । यो सिकाइले हामी खेलको दबाबबाट डराउँदैनौँ भन्ने बुझाउँछ ।”

यी दुई टिमबीचको पहिलो लेग आज राति आर्सनलको मैदान इमिरेट्स रंगशालामा नेपाली समयअनुसार १२ः४५ बजेदेखि सुरु हुने तालिका छ । यस्तै, क्वार्टरफाइनलको दोस्रो लेग अप्रिल १७ मा रियालको मैदानमा हुनेछ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्