
काठमाडौं । अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले दक्षिण सुडानका नागरिकलाई जारी गरिएका सबै अमेरिकी भिसा तत्काल रद्द गरिने घोषणा गरेका छन् । अमेरिकाबाट फिर्ता गरिएका नागरिकलाई दक्षिण सुडानले लिन नमानेको भन्दै उनले यस्तो घोषणा गरेका बीबीसीले जनाएको छ ।
रुबियोले दक्षिण सुडानका नागरिकलाई अमेरिका प्रवेशमा रोक्ने निर्णय पनि गरेका छन् । दक्षिण सुडानको संक्रमणकालीन सरकारले आफ्ना नागरिकलाई समयमा फिर्ता लिन असफल भएकामा यसको जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिको मूल आधार नै अमेरिकाबाट अवैध प्रवासीलाई निकाल्ने छ । एक विज्ञप्तिमा रुबियोले भनेका छन्, “दक्षिण सुडानको संक्रमणकालीन सरकारले अमेरिकाबाट फाइदा उठाउने अब बन्द गर्नुपर्ने बेला आइसकेको छ । अमेरिकासहित अन्य कुनै पनि देशले कसैलाई निष्कासन गर्न खोज्दा प्रत्येक राष्ट्रले आफ्ना नागरिकलाई समयमा फिर्ता लिनुपर्छ ।”