
काठमाडौं । इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । आइतबार राति फुलहमसँग पराजित भएसँगै प्रिमियर लिगमा २६ खेलसम्म अपराजित लिभरपुलको यात्रामा पूर्णविराम लागेको हो ।
घरेलु मैदानमा फुलहमलाई जित दिलाउन र्यान सेसेग्नोन, एलेक्स ल्वबी र रोड्रिगो मुनिजले गोल गरे । लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र लुइस डियाजले गोल गरेका थिए ।
खेलमा लिभरपुलले सुरुआती अग्रता बनाएको थियो । तर, फुलहमले पहिलो हाफमा ३–१ को अग्रता बनायो । १४औँ मिनेटमा म्याक एलिस्टरको गोलमा लिभरपुलले अग्रता बनाएको थियो । २३औँ मिनेटमा सेसेग्नोनको गोलबाट फुलहम खेलमा फर्कियो ।
३२औँ मिनेटमा ल्वबीले गोल गर्दै घरेलु टिमलाई २–१ को अग्रतामा राखे । ३७औँ मिनेटमा मुनिजले गोल गरेपछि फुलहमले पहिलो हाफमै ३–१ को अग्रता बनाएको थियो । ७२औँ मिनेटमा डियाजले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए पनि लिभरपुलको हार टार्न सकेनन् ।
हारका बाबजुद प्रिमियर लिग उपाधिमा लिभरपुलको बलियो दाबेदारी छ । शीर्ष स्थानमा आसीन लिभरपुलको ३१ खेलबाट ७३ अंक छ । आठौँ स्थानमा उक्लिएको फुलहमले ४८ अंक जोडेको छ ।
म्यानचेस्टर डर्बी
प्रिमियर लिगअन्तर्गत आइतबार राति नै सम्पन्न ‘म्यानचेस्टर डर्बी’मा सिटी र युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिगमा यी दुई टिमले सन् २०२० पछि गोलरहित बराबरी खेलेका हुन् ।
यो बराबरीसँगै तालिकाको पाँचौँ स्थानमा रहेको सिटीले ५२ अंक जोडेको छ । १३औँ स्थानको युनाइटेडको ३८ अंक छ ।