
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले वित्तीय जोखिक कम गर्न नेपाल आउने विदेशी नागरिकलाई स्वास्थ्य बिमामा अनिवार्य आबद्ध हुने व्यवस्था गर्ने भएको छ । आइतबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले सबै जनप्रतिनिधि, कर्मचारी, वैदेशिक रोजगारीमा जाने श्रमिक, आमनागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बिमामा अनिवार्य आबद्ध हुने व्यवस्था मिलाइने बताएका हुन् ।
"सबै तहका जनप्रतिनिधि, नेपाल सरकारका विभिन्न निकायमा कार्यरत कर्मचारी, सांगठनिक संस्थामा कार्यरत व्यक्तिहरू, वैदेशिक रोजगारमा जाने व्यक्ति र तिनका परिवार, आमनागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेतलाई स्वास्थ्य बिमामा अनिवार्य आबद्ध हुने व्यक्त मिलाइनेछ । जसले गर्दा युनिभर्सल हेल्थ कभरेजको सरकारको नाराले पूर्णता प्राप्त गर्नेछ," उनले भने ।
स्वास्थ्य बिमा बोर्डको वित्तीय जोखिम कम गर्न यो कोसेढुंगा सावित हुने उनको विश्वास छ । "स्वास्थ्य बिमा बोर्डको वित्तीय जोखिम कम गर्नलाई यो कोसेढुंगा सावित हुने हामीले ठानेका छौँ," कार्यकारी निर्देशक काफ्लेले भने ।
उनले छरिएर रहेका कार्यक्रमलाई एकीकृत गरेर स्वास्थ्य बिमा बोर्ड मातहत ल्याइने पनि बताए । "प्रदेश सरकार, स्थानीय तहले पनि नागरिकलाई सहज उपचारका लागि सहयोग तथा अनुदान प्रदान गर्दै आएका छन् । यसरी छरिएर रहेका कार्यक्रमलाई एकीकृत गरी स्वास्थ्य बिमा बोर्डअन्तर्गत ल्याइनेछ ।"
सबै तहका स्वास्थ्य अनुदानका सेवा एकीकरण गर्न बोर्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच छलफल अगाडि बढाइसकिएको उनको भनाइ छ ।