
काठमाडौं । राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि सप्ताहव्यापी राजधानीकेन्द्रित आन्दोलन घोषणा गरेको छ । बिहीबार (चैत २२) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजनिम्ति भन्दै आन्दोलन घोषणा गरेको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियतामाथि खतरा बढ्दै गएको बताए । त्यसविरुद्ध संघर्ष गरेर नै राष्ट्रियता रक्षा गर्न सकिने उनले जिकिर गरे ।
उनले गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजीनिम्ति चैत २४ देखि ३० गतेसम्म जनपरिचालनसहितको आन्दोलन गर्ने जानकारी दिए ।
राजतन्त्रको पुनर्स्थापना गर्ने राजावादीको उद्देश्य जनविरोधी रहेको उनले टिप्पणी गरे ।
अध्यक्ष केसीले संघीयताका कारण गणतन्त्र तथा राष्ट्रियतामाथि नकारात्मक असर परिरहेको जिकिर गरे । गणतन्त्र रक्षानिम्ति संघीयाता खारेज गर्नुपर्ने उनले धारणा व्यक्त गरे । हिमालयन टेली भ्वाइस