site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सहकारी समस्या समाधान गर्न ऐनमा संशोधन गरिने 

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहकारी क्षेत्र मर्यादित भएमात्रै सम्मुनत समाज निर्माणको आधार तयार गर्न सकिने बताएका छन् । 

राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्षको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सहकारी आर्थिक, सामाजिक जागरणको अभियान भएकाले सहकारी क्षेत्र मर्यादित भएमात्रै सम्मुनत समाज निर्माण गर्न सकिने बताएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

देशभर रहेका ३१ हजारभन्दा बढी सहकारीमध्ये केही सयको संख्यामा रहेका सहकारीमा समस्या देखिएकाले यसको समाधान गर्दै यस क्षेत्रलाई विश्वसनीय बनाउने उनले बताए । उनले सहकारी ऐन संशोधन गरी यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार अघि बढेको जिकिर गरे । 

उनले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिताबाट अर्थतन्त्र सुदृढ गर्ने नीति लिएकाले सहकारीलाई संविधानमा नै आत्मसात् गरेर छुट्टै पहिचान दिएको बताए । त्यस्तै, उनले सहकारी क्षेत्रले महिला सशक्तीकरण र नेतृत्व विकासमा आफ्नो योगदानलाई थप सार्थक बनाएको धारणा राखे । 

राष्ट्रिय सहकारी दिवस नेपालमा प्रत्येक वर्ष चैत २० गते मनाइन्छ । नेपालमा विसं २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भई सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्