
काठमाडौं । फ्रेन्च फरवार्ड किलियन एमबाप्पेप्रेरित रियाल मड्रिडले स्पेनिस ला लिगामा लेगानेसविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ ।
शनिबार राति घरेलु मैदानमा रियाललाई जित दिलाउन एमबाप्पेले दुई गोल गरे । जुड बेलिङ्घमले एक गोल थपे । लेगानेसका डियागो गार्सिया र ड्यानी राबाले गोल फर्काए ।
रियालले ३२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता बनाएको थियो । उक्त पेनाल्टी अवसरलाई एमबाप्पेले सदुपयोग गरे । रियालको यो अग्रता एक मिनेट पनि टिक्न सकेन । त्यसको अर्को मिनेटमा गार्सियाले गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काए ।
४१औँ मिनेटमा राबाले गोल गरेपछि लेगानेसले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । तर, ४७औँ मिनेटमा बेलिङ्घमको गोलमा रियाल खेलमा फर्कियो । ७६औँ मिनेटमा एमबाप्पेले दोस्रो गोल गरेपछि रियालले ३–२ को रोमाञ्चक जित पक्का गरेको हो ।
जितसँगै रियालले शीर्ष स्थानमा आसीन बार्सिलोनासँग अंक बराबरी गरेको छ । २९ खेलबाट ६३ अंकसहित रियाल दोस्रो स्थानमा छ । रियालभन्दा एक खेल कम खेलेको बार्सिलोनाको पनि ६३ अंक नै छ । तालिकाको रेलिगेसन क्षेत्रमा संघर्षरत लेगानेस भने २९ खेलबाट २७ अंकसहित १८औँ स्थानमा छ ।
स्पान्योल १–१ एट्लेटिको मड्रिड
शनिबार नै भएको अर्को खेलमा स्पान्योलसँग बराबरीमा रोकिँदा एट्लेटिको मड्रिड ला लिगा उपाधि दौडबाट टाढिँदै गएको छ । स्पान्योलको मैदानमा यी दुई टिमबीचको खेल १–१ को बराबरीमा सकिएको हो ।
तालिकाको तेस्रो स्थानमा रहेको एट्लेटिकाले २९ खेलबाट ५७ अंक जोडेको छ । त्यो शीर्ष स्थानको बार्सिलोनाको भन्दा ६ अंक कम हो । १५औँ स्थानको स्पान्योलको भने २८ खेलबाट २९ अंक छ ।