
भजनी । कैलालीको टीकापुर नगरपालिकामा पाइपलाइनमार्फत घरघरमा पुगेको बायो ग्यास प्लान्टको विद्युत् लाइन काटिँदा ग्यास प्लान्ट अलपत्र परेको छ ।
नगरपालिका–५ स्थित सामुदायिक पशु चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा निर्माण भएको बायो ग्यास प्लान्टको विद्युत् महसुल नतिर्दा विद्युत् लाइन काटिएको थियो ।
विद्युत् लाइन काटिएपछि ग्यास वितरणको काम पनि ठप्प भएको छ । आसपासका ५५ घरमा पुर्याइएको ग्यास बन्द भएपछि करोडौँको संरचना अलपत्र परेको छ ।
गोबरबाट ग्यास उत्पादन गरेर दैनिक चार घण्टा स्थानीयलाई ग्यास उपलब्ध गराउँदै आइएको थियो ।
गौशालामा पर्याप्त गोबर भए पनि ग्यास प्लान्ट बन्द भएको गौशाला सञ्चालन गर्दै आएको सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बुढाक्षेत्री बताउँछन् ।
उनका अनुसार नगरपालिकाले विद्युतको महसुल नतिरेका कारण ग्यास प्लान्ट बन्द भएको छ । “दैनिक चार घण्टा ग्यास प्लान्ट सञ्चालन हुन्थ्यो । अहिले बिजुलीको लाइन काटेपछि बन्द भएको छ”, उनले भने, “हामीले बिजुलीको लाइन काटेको भनेर नगरपालिकालाई दुईपटक खबर गरिसकेका छौँ । त्यसको सुनुवाइ भएको छैन ।”
उनका अनुसार नगरपालिकालाई ग्यास प्लान्ट समितिको मातहतमा सञ्चालनका लागि आग्रह गरेको भए पनि त्यसको सुनुवाइ भएको छैन ।
“विद्युत्को लाइन काटेपछि पनि नगरपालिकालाई दुईपटकसम्म खबर गरेका छौँ । पत्र पठाएका छौँ । सुनुवाइ हुन सकेको छैन”, उनले भने, “प्लान्ट सञ्चालन गर्न सक्यो भने त्यो राम्रो आम्दानीको स्रोत बन्न सक्छ । त्यो हुन सकेको छैन । करोडभन्दा बढी लगानी धोस्त हुने स्थितिमा पुगेको छ ।”
विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका अनुसार विद्युत् लाइन गत पुस २२ गते काटिएको थियो । तिर्नुपर्ने १४ हजार ६४६ रुपैयाँ महसुल नतिरेपछि लाइन काटिएको वितरण केन्द्रका अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार अहिले उक्त रकम जरिवाना थपिँदै २५ हजार १७२ पुगेको छ । रासस