site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुरेश राईका दुई कविता

चिहान
होला एउटा चिहान 
कुनै बिरानो खोला या जंगलमा 
मलाई पर्खिरहेको 

होला अर्को चिहान 
मेरो गाउँको माटोमा 
मेरो बाटो हेरिरहेको 

मेरो ‘फेवरेट’चाहिँ 
तिम्रो दिलभित्रको हो
जहाँ तिमीले मलाई 
जिउँदै पुरिदिएकी छ्यौ  

Argakhachi Cement Island Ad

जसमाथि पहिलेपहिले 
मेरो घर हुने गर्थ्यो
जसमा तिमीले अहिले 
अरू कसैलाई बसाएकी छ्यौ !

०००

ड्राफ्ट
उनको प्रेम पनि 
बडो अचम्मको छ 
उनको प्रेम पनि ।

भन्छिन्–
म गएपछि खुबै याद आउनेछु 
उनको प्रत्येक धड्कनमा 
जीवित रहनेछु ।

भन्छिन्–
म उनको निम्ति के थिएँ भनेर 
पल प्रतिपल महसुस हुनेछु ।

उनको प्रेम पनि 
साँच्चै अचम्मकै छ 
उनको प्रेम पनि ।

भन्छिन्– 
प्रेमैप्रेमले भरिएको 
मेरो श्रद्धाञ्जलीको ड्राफ्ट 
ऊसँग सधैँ तयार छ ।

(खोटाङ)
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्