site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अराजक राजावादी ! प्रदर्शनकारीले मच्चाए बितन्डा

काठमाडौं । राजावादी समूहद्वारा शुक्रबार काठमाडौंको तिनकुनेमा आयोजना हुँदै गरेको विरोधसभा प्रारम्भमै हिंसात्मक बन्यो । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईँले विरोध कार्यक्रमलाई हिंसात्मक बनाएका थिए ।

उनको उक्साहटमा राजावादी प्रदर्शनकारीले जनताको निजी सम्पत्तिदेखि पार्टीका कार्यालय र सरकारी गाडी तोडफोड गरेका थिए । भीड यति अराजक बनेको थियो कि उनीहरूले निजी घरमा समेत आगो लगाए । उनीहरूको अराजकता त्यतिमै रोकिएन । निजी घरमा लागेको आगो निभाउन गएको दमकलमाथि पनि ढुंगामुढा गरेका थिए ।

सभास्थलमा पुगेका आन्दोलनका कमाण्डर प्रसाईँले आफैँ गाडी चलाउँदै निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ अघि बढेपछि हिंसा भड्किएको थियो ।

प्रहरीले प्रसाईँलाई रोक्ने प्रयास गर्यो तर उनले प्रहरीलाई किच्नेगरी गाडी अघि बढाएपछि प्रहरी साइड लागेको थियो । 

गाडी अगाडि बढाउँदै प्रसाईँले उत्तेजित भीडलाई ‘आओ आओ’ भन्दै अघि बढेका थिए । त्यसपछि प्रहरी र राजावादीबीच झडप भएको थियो । भीडलाई नियन्त्रणमा लिन प्रहरीले असुर ग्यास प्रहार गरेको थियो । भीड नरोकिएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

अराजक राजावादीको भीडले सुरुमा तीनकुनेस्थित एक निजी भवन तोडफोड गरेका थिए । त्यसपछि उक्त भवनमा आगजनी गरेका थिए । उक्त भवनमा लागेको आगो निभाउन गएको दमकलमाथि राजावादीहरूले ढुंगामुडा गरेका थिए । जसका कारण दमकल समयमै पुगेपनि क्षति रोक्न सकिएको थिएन ।

भीडलाई उक्साएर आन्दोलनमा कमाण्डर दुर्गा प्रसाईँ भने गाडी चढेर तीनकुनेबाट मास भड्काउँदै बाहिरिएका थिए । 

त्यसपछि राजावादीहरू यति अराजक बनेका थिए कि सुरक्षाकर्मीको राइलफल समेत खोसेका थिए । सशस्त्र प्रहरी बलका महिला जवानमाथि राजावादीले आक्रमण समेत गरेका थिए । अराजक राजावादीहरूलाई तितर–बितर गर्न प्रहरीले हवाइ फायर गरेको थियो ।

राजावादीहरूले तीनकुने नजिकै रहेको अन्नपूर्ण पोष्टको कर्पोरेट टावरमा समेत ढुंगा प्रहार गरेका थिए । उक्त टावर सीसा फुटेका छन् । उनीहरूले टावरमा आगजनी गर्ने प्रयास गरेका थिए, तर प्रहरीले उनीहरूलाई त्यहाँबाट धपाएपछि दुर्घटना टरेको थियो । 

राजावादीहरूले कोटेश्वरस्थित भाटभटेनीमा प्रवेश गरी तोडफोड गरेका थिए । दिउँसो ३ बजेर ५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका थिए ।

“कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर वियर–रक्सीलगायतका सामग्री लिएर हिँडेका छन्, तोडफोड गरे,” भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले भने । प्रहरीलाई समयमै खबर गरिएको भए पनि घटना भएको ४० मिनेट बित्दा पनि प्रहरी पुग्न सकेको थिएन ।

अराजक राजावादीको भीडले आलेकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा प्रवेश गरी तोडफोड गरेका थिए । उनीहरूले त्यहाँका भएका कागजात र फर्निचर बाहिर ल्याउँदै जलाएका थिए । त्यसपछि उनीहरूले कार्यालय भवनमा आगजनी गरेका थिए । समयमै प्रहरी पुगी आगो निभाएको थियो । 

राजावादीको एक समूह पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को कार्यालयमा पनि पुगेको थियो । माओवादीको कार्यालय तोडफोड गर्न लागेका राजावादीलाई प्रहरीले धपाएको थियो । 

राजावादीहरूले शुक्रबार नै तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा पनि ढुंगामुढा गरेका थिए । उनीहरूले त्यस क्षेत्रका अन्य घरमा पनि ढुंगा प्रहार गरेका थिए ।

राजावादीहरूले काठमाडौंको पेरिडाँडा नजिक एक गाडाीमा समेत आगजनी गरेका थिए । स्थानीय युवाहरूले उनीहरूको प्रतिकार गर्दै गाडीमा लागेको आगो निभाएका थिए । 

राजावादीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा पनि आगो लगाएका थिए । अराजक राजावादी समूहले बालकुमारीमा एक जिपमा पनि आगो लगाएका थिए । राजावादीले तीनकुनेमा एक ट्याक्सी तोडफोड समेत गरेका थिए । उनीहरूले नेकपा एमालेको कार्यालय नजिकै एउटा ट्याक्सी जलाएका थिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको झाडीमा पनि उनीहरूले आगो लगाएका थिए । अराजक राजावादी समूहले नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयअगाडि र नेपाल आयल निगम अगाडि रहेको चौरमा आगजनी गरेका थिए । 

आगजनीका कारण ४५ मिनेट उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । “४५ मिनेटजति उडान प्रभवित भयो, हामीले आगो नियन्त्रणमा लिएर उडान सुचारु गरेका छौँ,” उनले भने ।

राजावादीहरूले व्यापक आगजनी र तोडफोड गरेपछि आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँले ‘फेस सेभिङ’को लागि फेसबुक मार्फत निजी सम्पत्ति तोडफोड नगर्न अपिल गरेका थिए । 

“प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुग्यो, कैयन साथीहरू र प्रहरीहरू घाइते हुनुभएको छ यसप्रति दुःख व्यक्त गर्दै घाइते साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु,” प्रसाईँले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।

उनले सरकारले आफ्नो मुख थुन्न खोजेको आरोप लगाएका छन् । शान्तिपूर्ण रुपमा कार्यक्रमस्थल जाँदै गर्दा राजावादीहरू नपुग्दै प्रहरीले अश्रु ग्यास प्रहार र लाठीचार्ज गरेको आरोप उनले लगाएका छन् ।

राजावादीको प्रदर्शनका क्रममा घाइते २५ जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था खतरामुक्त रहेको अस्पतालका प्रबन्धक नारायण ढकालले जानकारी दिए ।

शुक्रबार अश्रुग्यास प्रहारबाट गम्भीर बनेका प्रदर्शनकारी निराजन बम र अर्का एकजना हातमा गोली लागेका व्यक्तिको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ । घाइते २५ मध्ये केही सुरक्षाकर्मी समेत रहेको ढकालले जानकारी दिए ।

राष्ट्रिय मानव अधिकार आयोगले समाजवादी मोर्चा र राजतन्त्र समर्थकहरूलाई आफ्नो प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ । 

आयोगले शुक्रबार समाजवादी मोर्चामा संलग्न राजनीतिक दलको आमसभा, राजतन्त्र समर्थक राजनीतिक दल र संगठनको प्रदर्शनको अनुगमन गरेको थियो । 

आयोगले चारवटा उच्चस्तरीय टोली बनाई तिनको अनुगमन गरेको जनाएको छ । काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको आयोगले जनाएको छ । 

प्रदर्शनकारीहरू तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको आयोगले जनाएको छ ।

प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चार माध्यमका भवन, कलेजका भवन, तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुंगा प्रहार गरेको आयोगले जनाएको छ ।  

अनुगमनका क्रममा हिँडेको राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीमाथि पनि प्रदर्शनकारीबाट कोटेश्वरमा सांघातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते बनाएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन । अतः यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

गृह मन्त्रालयले पनि शुक्रबार साँझ प्रत्रकार सम्मेलन गरी हिंसा भड्काउने कार्य दुर्गा प्रसाईँबाट भएको निष्कर्ष निकालेको छ । “पूर्वराजाका समर्थकहरूले तिनकुनेमा गरेको प्रदर्शन एकदमै हिसात्मक भयो । पूर्वराजाका समर्थकहरूले तिनकुनेमा गरेको गतिविधि खेदजनक छ,” पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले भने, “संविधानको दुरुपयोग गर्नुभयो । देख्दा पनि लाजलाग्ने आन्दोलन देख्यौं । नेतृत्व दुर्गा प्रसार्ईंले गरेको भन्ने आएको छ । सुरक्षाकर्मीलाई लक्षित गरेर, मार्ने गरेर उहाँले गाडी चलाउनुभयो त्यसपछि त्यहाँको वातावरण बिग्रेको भन्ने आएको छ ।” 

दुर्गा प्रसाईँलाई कानुनी दायरमा ल्याइने उनले जनाए । उनले थप स्पष्ट पारे, “आन्दोलनको नेतृत्व दुर्गा प्रसाईँले गरेको हुँदा, उहाँ  जिम्मेवार हुनुहुन्छ । आज जे जति क्षति भएको छ त्यसको जिम्मेवारी पनि उहाँहरूले लिनुपर्छ ।”

पूर्वराजाका समर्थकहरूले तिनकुनेमा गरेको क्रियाकलाप खेदजनक भएको उनले बताए । उनीहरूले निजी सम्पत्ति, गाडी, मिडिया, व्यापारिक भवनमा आगजनी गरेको उनले जनाए । “सबै गतिविधिको सुक्ष्म ढंगले निगरानी गरेका छौं । आपराधिक कार्यमा संलग्न सबैलाई कानूनी दायरामा ल्याइने छ । सबैलाई कानुनी कारबाही गर्छौं,” रिजालले भने ।

तीनकुने झडपमा एक जनाको मृत्यु भएको उनले जनाए । मृत्यु हुने व्यक्ति कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जन रहेको उनले बताए । तिनकुनेमा जलेको घरमा परेर एक जना पत्रकारको निधन भएको छ ।

रिजालले जडीबुटी कम्पनीको कार्यालय र त्यहाँ रहेका ८ वटा गाडीमा आगजनी भएको जानकारी दिएका थिए । कानुन हातमा लिने सबैलाई नियन्त्रणमा लिने दाबी उनले गरे । “सधँै यस्तो घटना हुँदैन । नेपाली नागरिक हतोत्साहित नभई दैनिक कार्य गर्न अनुरोध गर्दछौं,” उनले भने । 

आजको प्रदर्शनमा १५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको उनले बताए । भौतिक क्षतिको पूर्ण विवरण आइनसकेको उनले जनाए । “यो कुनै राजनीतिक आन्दोलन होइन । यो लुटपाट, हिंसाजन्य र आपराधिक क्रियाकलाप हो,” उनले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २१:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro